Swornakshar Logo

रामचन्द्र पौडेल र भारतीय रक्षामन्त्री बीच भेटवार्ता

१ माघ । काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रक्तचापको समस्या देखिएपछि उपचारका क्रममा सोमबार भारतको नयाँदिल्ली गएका थिए । उपचारका क्रममा नेता रामचन्द्र पौडेल र भारतीय रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा द्विपक्षीय सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको नेता पौडेलले बताए । बिहीबार थप भारतीय उच्च नेतासँग भेटवार्ता हुन सक्ने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।

उपचारका लागि नयाँदिल्लीमा गएका नेता पौडेलले माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे ।

यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान दिएको उनले बताए ।