Swornakshar Logo

सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटायो

फाइल तस्विर

१९ कात्तिक । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाको विरोधकाबीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो ।

नेकपाको तर्फबाट ओलीले सरकारको नेतृत्व गरेसँगै उनीहरुलाई हटाउन खोजिएपनि काँग्रेसको विरोध गर्दै आएको थियो ।

देउवा सरकारले प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गा केशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो ।