Swornakshar Logo

पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु, आफन्त र प्रहरीबीच झडपमा, १० जना घाइते

१० साउन । काठमाडौं । पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दा मृतकका आफन्त र प्रहरीबीच झडप पनि भएको थियो ।

बिरामीका आफन्तले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भीँडलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज समेत गर्नुपर्यो । झडपको क्रममा दुवै पक्षका गरि १० जना घाइते भएका छन् । प्रहरीले ३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

कास्की अन्नपूर्ण गाउँपालिका ७ की ३३ वर्षीया निशाकुमारी थापा व्यथा लागेपछि विहीबार बेलुकी अस्पताल पुगेकी थिइन् । थापा हाल पोखरा १४ चाउथे बस्दै आएकी थिइन् । मृतक थापाले रातको साढे ९ बजेतिर सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । शिशु जन्मे पछी उनको रक्तश्राव भएको र अस्पतालले समयमै उचित ढंगले उपचार नगरे पछी निशाको मुत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

पीडितका आफन्तले अस्पतालले समयमै उनको उपचार नगर्दा मृत्यु भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् । शिशुको जन्मपछि उनको पाठेघरको शल्यक्रिया गरिएको थियो । बेलुका १० बजे देखि विहान ३ बजाएर चिकित्सकको टोलीले उनको पाठेघरको शल्यक्रिया गर्दा पनि उनलाई बचाउन नसकिएको अस्पातालका निर्देशक अर्जुन ज्ञवालीले बताए ।

नर्मल अवस्थामा बच्चा जन्माएकी निशाको अत्याधिक रक्तश्रावका कारण शुक्रबार बिहान मुत्यु भएको निर्देशक ज्ञवालीले बताए । ‘बिहिबार साँझ अस्पतालमा आएकी निशाले नर्मल अवस्थामा छोरा जन्माएकी थिइन्,’ उनले भने, ‘रक्तश्राव अत्याधिक भएपछि उनको शल्यक्रिया गरियो । तर पनि रगत बग्न रोकिएन । यसरी हाम्रो अथक प्रयासपछि पनि हामीले उनलाई बचाउन सकेनौं, आज बिहान उनको मुत्यु भयोे ।’ पाठेघर नखुम्चिने समस्या आएकोले आफुहरुले धेरै प्रयास गरी उनलाई बचाउन खोज्दा खोज्दै बचाउन नसकिएको निर्देशक ज्ञवालीले जनाए ।

निशाको शव हाल अस्पताल परिसरमै रहेको छ भने उनका आफन्तले दोषी उपर कडा कारवाहीसहित उचित क्षतिपूर्तिको समेत माग राख्दै आन्दोलनमा छन् । पीडितका आफन्त र प्रहरीबीच केही बेर हानाहान भएको थियो । झडपमा आफन्त ५ जना र ५ जना प्रहरीसहित १० जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा निशाका भान्जा रमेश थापा, शोभाखर पौडेल, नरबहादुर थापा, आशा थापा र बिष्णु गुरुङ रहेका छन् । त्यसैगरी झडपमा परी प्रहरी निरीक्षक विजय भण्डारी, प्रहरी हवल्दार गणेश विष्ट, हवल्दार मिनबहादुर पाण्डे, प्रहरी जवान रुपा परियार र डोलराज नेपाली घाइते भएको प्रहरीले बताएको छ ।

उक्त घटनामा प्रहरी माथि ढुंगा मुडा प्रहार गर्ने ३ जनालाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । उनका अनुसार पक्राउ पर्नेमा राजु थापा, अनिल थापा र राम गुरुङ रहेका छन् ।