Swornakshar Logo

बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री

एजेन्सी

७ साउन । काठमाडौं । बोरिस जोन्सन टेरीका बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनले प्रतिस्पर्धी जेरेमी हन्टलाई ४५ हजार ४ सय ९७ मतले पराजित गर्दै जोन्सन टोरीका नयाँ नेता तथा वेलायतका प्रधानमन्त्री बनेका हुन् । जोन्सनले ९२,१५३ मत पाएका थिए भने हन्टले ४६,६५६ मतमात्र पाए ।

लण्डनका पूर्व मेयरसमेत रहीसकेका जोन्सनले भोलि थेरेसा मेलाई प्रतिस्थापन गर्दै बेलायतको नयाँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।

जोन्सनले जितपछि गरेको सम्बोधनमा ब्रेक्जिट लागू गर्ने, युकेलाई एकताबद्ध गर्ने तथा जेरेमी कोर्बिनलाई पराजित गर्ने वाचा गरेका छन् । लण्डनमा रहेको क्विन एलिजावेथ द्वितिय सेन्टरमा उनले देशमा अब नयाँ ऊर्जाको सञ्चार हुने बताएका छन् ।

‘अक्टोबर ३१ मा ब्रेक्जिट लागू हुनेछ । त्यसपछि आउने अवसरलाई हामि नयाँ उर्जाका साथ आत्मसात गर्दै अघि बढ्ने छौं । अब हामीमा फेरि हाम्रो आत्मविश्वास फर्किने छ । हामि नकारात्मकताबाट मुक्त हुँदै पूर्ण आत्मविश्वासका साथ अघि बढ्नेछौं’, जोन्सनले भने ।

जोन्सनले सम्बोधनमा निवर्तमान प्रधानमन्त्री थेरेसा मेलाई उनको क्याबिनेटमा रही सेवा गर्ने मौका दिएकोमा धन्यवाद पनि दिएका छन् । उनी मेको क्याबिनेटका विदेश सचिव थिए । ब्रेक्जिटका विषयमा मतान्तर भएपछि उनले राजिनामा दिएका थिए ।