Bagmati Samachar Logo

दिल्लीकी पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेतृ शीला दीक्षितको निधन

४ साउन । काठमाडौं । दिल्लीकी पूर्व मुख्यमन्त्री , भारतीय कांग्रेसकी दिल्ली अध्यक्ष तथा पार्टीकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन भएको छ ।

झण्डै एक हप्तादेखि बिरामी रहेकी ८१ वर्षीया दीक्षितलाई शनिबार बिहान एस्कार्ट्स फोर्टिस अस्पतालमा भर्ना गराइएको थियो । अस्पतालका निर्देशक डाक्टर अशोक सेठका अनुसार नेपाली समय अनुसार अपरान्ह तीन बजे मुटुमा समस्या आएपछि दीक्षितलाई भेन्टिलेटरमा राखिएको थियो । र उनको उपचारकै क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनलाई प्यारी दादीको रुपमा पनि चिनिन्थ्यो । उनको निधन दिल्लीवासीका लागि मात्र नभइ भारतीय कांग्रेस पार्टी र गान्धी परिवारका लागि पनि ठूलो क्षति भएको बताइएको छ । ३५ वर्षे राजनीतिमा दीक्षित केरलको राज्यपाल पनि रहेकी थिइन् । उनले सन् १९८८ देखि २०१३ सम्म राष्ट्रिय राजधानी दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।

उनको निधनलाई लिएर पार्टीले दुःख व्यक्त गरेको छ । आफ्नो जीवनकालमा कांग्रेस नेतृ र तीन पटक दिल्लीकी मुख्यमन्त्री रहेकी दीक्षितले दिल्लीमा धेरै परिवर्तन ल्याएकी थिइन् ।