Swornakshar Logo

प्रहरीको गोलीलागी ज्यान गुमाएका सरोजनारायणलाई शहीद घोषणाको लागि सिफारिस गरिने

पत्नीलाई नगरपालिकामा जागिर

१८ असार । सर्लाही । प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहलाई शहीद घोषणाका लागि सिफारिस गर्ने सहमति भएको छ । सर्लाहीको स्थानीय प्रशासन र राजनीतिक दलबीच यस्तो सहमति भएको हो । दुई पक्षबीच सरोजलाई शहीद घोषणा गर्न सिफारिस गर्ने सहमति भएसँगै सर्लाहीको ईश्वरपुरमा केही दिनयता जारी तनाव अन्त्य भएको छ ।

बाँके खोलाको भंगालोमा परी १२ वर्षीय बालक अमित रायको मृत्यु भएको विषयमा स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरीरहेका बेला प्रहरीले गोली चलाउँदा सरोजनारायण सिंहको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विरोधमा स्थानीयबासी आन्दोलनमा उत्रिएका थिए ।

बुधबार भएको वार्तामा राजनीतिक दल र स्थानीय प्रशासनबीच १४ बुँदे सहमति भएको छ । जसअनुसार प्रहरीको गोली लागेर मृत्यु भएका सरोजलाई शहीद घोषणा गर्न स्थानीय प्रशासनले अनुरोध गर्ने, उनकी पत्नी रंगिलाकुमारी महतोलाई वडा नम्बर १३ को कार्यालय सहयोगीमा नियुक्त गर्ने र छोरालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था मिलाउने सहमति भएको छ ।

यसका साथै बाँके चोकमा सरोजको शालिक निर्माण गर्न नगरपालिका र वडा नम्बर १३ लाई अनुरोध गर्ने सहमतिसमेत भएको छ ।

बाँके नदीमा डुबेर मृत्यु भएका बालक अमित रायको परिवारलाई क्षतिपूर्ति वापत पाँच लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । यसका साथै दुबै मृतकलाई काज किरिया खर्च वापत २५–२५ हजार रुपैयाँ उपलब्ध गराउने, बाँके खोलाको सिमाना कायम गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, मापदण्ड विपरीत खोला उत्खनन् रोक्ने सहमति समेत भएको छ।

यसैगरी, प्रहरीको लाठी चार्जमा परी घाइते भएकाहरुको यकिन गरी उपचार खर्च उपलब्ध गराउने, गोली लागि घाइते भएका राजकुमार महरालाई उपचार खर्च वापत ५० हजार उपलब्ध गराउने र दोषिमाथि आवश्यक कारबाहीको सिफारिस गर्ने सहमति भएको छ । बैठकमा संघीय सांसद प्रमोद साह, प्रदेश सांसद उपेन्द्र महतो, पूर्वमन्त्री शमभुलाल श्रेष्ठलगायत सहभागी थिए ।