Swornakshar Logo

गृह प्रवक्ताको किर्ते हस्ताक्षर गरी १ अर्ब ठग्न खोज्दा

१७ असार । काठामाडौं । गृह मन्त्रालयको नक्कली लेटर प्याड बनाएर १ अर्ब ८ करोड ७६ लाख ठग्न खोज्ने एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे धुलिखेल बस्ने बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापा छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सिंहदरबार दक्षिण गेट नजिकबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित कागजात बरामद भएको छ । सो कागजातमा ‘लक्ष्मी अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकोले क्षतिपूर्ति स्वरूप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख समेत दिनू’ भनी लेखिएको छ ।

प्रहरीले उनीहरुबाट विभिन्न बैंकका चेक, राहदानीहरु र नगद ४२ हजार २ सय १० रुपैयाँ समेत बरामद गरेको छ ।