Swornakshar Logo

छोरा सम्झेर भावुक बने प्रचण्ड

१७ असार । काठमाडौं । दिवंगत छोरा प्रकाश दाहाल सम्झेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक भएका थिए । उनले भावुक हुँदै छोरा प्रकाशलाई सम्झिए ।

प्रचण्डका छोरा प्रकाश दाहालको ३८औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले छोरा प्रकाशलाई सम्झँदै भने, ‘प्रकाश छोटो आयु बाँचे तर अनुभवले पूरा जीवन बाँचेर गए । ३६ वर्षको उमेरमा आलोचना खेपे, प्रशंसा पाए, राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव पनि लिए ।’

उनले जनयुद्धका दिन सम्झिँदै भने, ‘प्रकाशले एउटै स्कुल पढ्न पाएन । धेरै स्कुल बदल्यौं । युवामा युद्धको अनुभवदेखि शान्ति प्रक्रियाको अनुभव लिए ।’

दाहालका दायाँ हातः नेपाल
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकाश दाहाल प्रचण्डको दायाँ हात भएको बताए । उनले भने, ‘प्रकाश अध्यक्ष प्रचण्डको अहिले दायाँ हात हुन्, अहिले त्यो भाँचिएको छ । तर उनको योगदान नेपाली राजनीतिमा सधैं सम्झिइनेछ ।’

नेपालले भने, ‘मैले त खुकुरी मात्र चलाउन जानेको छु तर प्रकाशले त बन्दुक नै चलाउन जानेका थिए । त्यति मात्र होइन, आईटी प्रविधिमा धेरै अगाडि थिए । साहसिक योद्धा थिए ।’

प्रकाश सहयोगी थिएः महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पनि प्रकाश दाहाल असल र कुशल व्यक्ति भएको बताए । उनले मानिस बाहिरबाट पहिला हेर्दा कस्तो कस्तो लाग्ने तर जब नजिक भयो, त्यो मानिस सामान्य र नजिकको लाग्ने बताए ।

उनले भने, ‘मैले प्रचण्ड प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री भएर काम गरे, त्यो समयमा प्रकाश दाहालसँग धेरै नजिक हुने मौका पाएँ । उनी राम्रा मानिस थिए । प्रचण्डका सहयोगी थिए । जुन काम उनले गरे, त्यो धेरै राम्रोसँग गरे ।’

कार्यक्रममा पाँचजना सगरमाथा आरोहीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा दक्षिण कोरियाका उम होङ जिल, आरोही ज्ञानेन्द्रकुमार श्रेष्ठ, आरोही माया शेर्पा र आइसफल डाक्टर आङ सार्की शेर्पा छन् ।

सो अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले दुईजना क्यान्सरका बिरामीलाई एक–एक लाख सहयोग गरेको छ । सहयोग पाउनेमा रुकुम सानो भेरीका पूर्वजनमुक्ति सेना धर्म वली र गोरखा निवासी १३ वर्षीया पल्लव श्रेष्ठ हुन् ।