Swornakshar Logo

नेकपा संसदीय दलको बैठकःनराम्रा कामहरुको सुझाव दिनुहोस्, हामी सच्याउँछौः प्रधानमन्त्री

१६ असार । काठमाडौँ । सत्तारुढ नेकपाको संसदीय दलको बैठकमा सरकारको कामकारबाही र पार्टी एकता भएको ढिलाईलाई लिएर नेतृत्वको चर्को आलोचना भएको छ । सोमबार बसेको संसदीय दलको बैठकमा २९ जना सांसदले आफ्ना धारणा राखेका थिए । बैठकमा सहभागी एक सांसदका अनुसार २७ जना सांसदले सरकारको कामकारबाही र मन्त्रालयगत बजेटको बिषयलाइ लिएर चर्को असन्तुष्टि जनाएका थिए । २ जना सांसद पदम गिरी र निरु पालले भने सरकार र प्रधानमन्त्रीको बचाउमा बोलेका थिए ।
सांसदहरुले सरकारका काम कारबाही बाहेक पार्टी एकतामा ढिलाई भैरहेको बारेमा पनि नेतृत्वलाई प्रश्न गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

‘सांसद घनश्याम भूसालले यो बैठकको नै औचित्य छैन भन्नु भयो । रामकुमारी झाँक्रीले फरक मतसहित कुरा राख्नुभयो । त्यसबाहेक अधिकांश सासदले सरकारका कामकारबाही प्रभावकारी नभएको र पार्टी एकतामा भएको ढिलाईबारे चिन्ता जाहेर गर्नुभएको थियो, ती सांसदले भने, ‘बजेट राम्रो आयो । तर मन्त्रालयगत रुपमा विनियोजन भएको बजेट मन्त्रीमुखी, नेतामुखी भएको भन्दै आलोचना पनि भयो । तर अधिकांश सांसदहरुले यो सरकारका विरुद्ध जनमत जानु भनेको प्रणालीका विरुद्धनै हमला हुन सक्ने स्थिति रहन्छ । त्यसकारण यो सरकारलाईनै प्रभावकारी बनाएर लैजानुपर्छ भन्ने आशयकै अभिव्यक्तिहरु थिए ।’
बैठकमा सहभागी अर्का एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले सरकारका कामकारबाही, समिति र विधेयकका बिषयमा बोलेका थिए । प्रधानमन्त्री ओलीको भनाई उद्धत गर्दै ती सांसद भन्छन्, ‘हामीसँग अर्को विकल्प छैन, यो सरकार सफल भएन भने हामी सिद्धिन्छौं । पार्टी एकतालाई पनि टुंग्याईन्छ । सरकारलाई पनि प्रभावकारी बनाउँछाँै । अरुले कुरा उठाए भनेर तिनका पछि पछि लाग्नहुन्न् । नराम्रा कामहरुको सुझाव दिनुहोस्, हामी सच्याउँछाँै। तर राम्रा कामको प्रतिवाद गर्नुस्,’ उनले भने । झन्डै ४५ मिनेट बोलेका प्रधानमन्त्री ओलीले संसद, समिति र विधेयक बारे व्रिफिङ् गरेका थिए । ती सांसदकाअनुसार प्रधानमन्त्री ओलीले पार्टीका सिनियर सांसदबाट पछिल्लो समय आएका अभिव्यक्ति अनुपयुक्त भएको भन्दै कटाक्ष गरेका थिए ।

त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पार्टी एकता र पछिल्लो समय पार्टी भित्रको विवादबारे बोले ती सांसदले जानकारी दिए । प्रचण्डको भनाई उद्धत गर्दे उनले भने, ‘सरकारसँग सम्बन्धित कुरा दलको नेता भएको नाताले प्रधानमन्त्रीले बोल्नुहुन्छ । पछिल्लो केही दिनमा अलिअलि हामी दुई अध्यक्षबीचमा परेकै हो । तर हामीले छलफल गर्यौ र एकअर्कामा विश्वासमा छौ अझैपनि । म आफुबाट अभिव्यक्त हुँदा वा गर्दा केही अप्ठ्यारो परेको भए त्यसको जिम्मेवारी लिन्छु । मैले रियलाईज गर्छु । तर अब यो पार्टीलाई बलियो बनाएर अगाडि जाने हो ।’ प्रचण्डले भनेका थिए ।

बैठकमा गम्भिर देखिएका प्रचण्डको भनाई थप उद्धत गर्दै ती सांसद भन्छन्, ‘पूर्व एमाले माओवादीको नकारात्मक कुरा खोज्दै हिँड्ने, पूर्व माओवादीले एमालेको नकारात्मक कुरा खोज्दै हिँडेर केही पनि भेटिदैन । त्यसले हामी कँहि पुगिदैन । हाम्रो लक्ष्यमा पुग्न सकिदैन । एकअर्कालाई अलि बुझ्न नसकेको उहाँको आशय थियो, ती सांसदले भने, ‘पार्टीभित्र एकताको आशय नबुझिकन केही साथीहरुबाट आएका अभिव्यक्ति अनुपयुक्त छन् ।’ प्रचण्डले भनेका थिए । सांसदहरुले मन्त्रीहरुको चर्को आलोचना गरेपछि बैठकमा तीन जना मन्त्री पनि बोलेका थिए । दलको बैठक शनिबार पुन बस्ने भएको छ ।

दुई अध्यक्षको समान बोली
बैठकमा अध्यक्षद्वय ओली–प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउने बाटोमा नलागे सबै सिद्दिने समान धारण राखेका थिए । ‘हामी पार्टी एकता असार मसान्तसम्म टुंग्याउँछौँ । इफ, नो बाट यो पार्टी एकता टुंगिन्छ । हामीले हाम्रा अभिभाराहरु बुझेका छौ,’ बैठकमा अध्यक्षद्वयको भनाईको आसय उद्धत गर्दै ती सांसदले भने, ‘हामीले राष्ट्रिय राजनीतिलाई बुझेका छौँ, अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेका छाँै । त्यसकारणले हामीबीचको आन्तरिक एकतालाई मजबुदनै बनाएर जान्छाँै । तपाईहरु अस्पष्ट हुनुहुन्छ भने स्पष्ट हुनुहोस् ।’

अध्यक्षद्वयको थप भनाई उद्धत गर्दे ती सांसदले अगाडि भने, ‘आवश्यकता र औचित्य देखेरनै हामीले पार्टी एकता गरेको हो । त्यसकारणले बाहिर के आउँछ भनेर त्यतातिर नलाग्नुस् । हामीले पार्टीलाई ऐक्यबद्धताका साथ बढाउँछाँै ।’