Swornakshar Logo

उपत्यकाका ५ स्थानमा विस्फोट गराउने विप्लव योजना असफल

१० असार । काठमाडौं । उपत्यकाका विभिन्न ठाँउमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको योजना असफल भएको प्रहरीले दाबी गरेको छ । नेकपाले आजको बन्द सफल पार्न उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौं गरी पाँच ठाँउमा बम विस्फोट गराउने योजनालाई असफल बनाइदिएको उच्च प्रहरी स्रोतको भनाइ छ ।

विस्फोटको सूचना प्रहरी प्रधान कार्यालयमा पुगेलगत्तै प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाँउमा विप्लवका कार्यकर्ता पक्राउ गर्न रातभर ठूलो मात्रमा प्रहरी परिचालन गरेको प्रहरी स्रोतले बतायो ।

त्यस्तै, विप्लवको गतिविधि निगरानीका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभासमेत सूचना संकलनमा खटिएकोले पाँचवटा बम विस्फोट हुनबाट जोगिएको प्रहरीको भनाइ छ ।

‘विप्लवको उपत्यका इन्चार्ज माइला लामाको नेतृत्वमा तीनवटा सुतली र प्रेसर कुकर बम विस्फोट गर्न बमसहित केही कार्यकर्ता महराजगन्ज क्षेत्रमा रहेको सूचना आयो,ु ती अधिकारी थपे, ‘त्यही सूचनाका आधारमा एकजना भुजेल थरको कार्यकर्तालाई पक्राउ गरेका छौं । बम ल्याउने कायकर्ता भागेको भन्ने प्रारम्भिक बयान दिएका छन् । हामी थप भेरिफाई गर्दै छौं,’ उनले भने ।

प्रहरीले देशभरबाट समाचार तयार गर्दासम्म नेपाल बन्द सफल बनाउन हिँडेका विप्लवका सात कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

त्यस्तै, देशभरका २० ठाउँमा शंकास्पद वस्तु फेला परेको र १० ठाउँमा बम भेटिएको उनको भनाइ छ । भेटिएका बम प्रहरी र नेपाली सेनाले टोलीले डिस्पोज गरेको छ ।

पोखरेलका अनुसार तीनवटा सिलिन्डर बम, पाँचवटा सुतली बम र एउटा टाइम बम डिस्पोज गरिएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो कार्यकर्ताको हत्या भएको भन्दै मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।