Swornakshar Logo

महाधिवेशन गर्न गगन थापाले दिए देउवालाई चुनौती

९ असार । काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औ महाधिवेशन नभए कांग्रेसले ठुलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाईने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरे । उनले महाधिवेशन नगरी फेरी पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठुलो घाटा व्यहोर्नुपर्ने दाबी गरे ।

‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउदैनौ । म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुदैछ । त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने । अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाण्डौमा बसेर छान्ने । भागवण्डा गरेर बनाउने । यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुदैन । यो पार्टीका निम्ति प्रत्युत्पादक छ । यो गर्न पाईदैन । यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन । वरिष्ठ नेतालाई पनि छैन,’ उनले भने ।

नेता थापाले सम्पुर्ण कार्यकर्ता महाधिवेशनमा जानुपर्नेमा भएपनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे । उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिले सम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे । उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिष्ट सरकारका गलत हरकतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्कसमेत गरे ।

नेता कृष्ण प्रसाद सिटौला पक्षले सोमबार राजधानीमा समसामयिक राजनितिक परिस्थिति र नेपाली काग्रेसको भुमिका विषय अन्तरक्रिया गरेको हो ।