Bagmati Samachar Logo

मुम्बइका व्यापारीको २३ लाख ठग्ने युवती पक्राउ

८ असार । काठमाडौं । आफूलाई भीआईपी परिवारकी छोरी बताउँदै २३ लाख ठगी गर्ने एकजना युवती पक्राउ परेकीछन् । महोत्तरीकी २२ बर्षीया डायना सेकेण्डलाई गठी अभियोगमा अपराध महाशाखाको टोलीले शुक्रबार राती ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार उनले भारत मुम्बईका व्यापारी श्रीपाल जैनलाई आफू उच्च घरानाको ब्यापारी परिवारकी छोरी बताएर ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको बताए । प्रहरीले जैनबाट ठगी गरेको २३ लाखमध्ये २० लाख ८० हजार रुपैयाँ समेत बरामद गरेको छ ।

यसरी ठगिए जैन
मोहत्तरीकी २२ वर्षीया डायनाले तीन महिना अघि मुम्बईका व्यापारी श्रीपाल जैनलाई फेसबुकमा साथी बन्न रिक्वेस्ट पठाइन् । डायनाको प्रोफाइल तस्वीर सुन्दर थियो ।

जैनले उनको बिस्तृत बिवरण नहेरी फेसवुक साथी बनाए । जैन र डायना साथी बने । फेसबुकमा साथी बन्दा डायना दुबईमा थिइन् । जैन मुम्बईस्थित आफ्नै निवासमा ।

फेसबुकमा साथी बनेपछि उनीहरुबीच नियमित कुराकानी हुन थाल्यो । हेलो हाईबाट सुरु भएको कुराकानीले साथीको रुपलियो । मोबाइल नम्बर साटासाट भयो ।

दुबै जनाले आफ्ना परिवारिक अवस्थाबारे समेत खुलेरै कुरा गर्न थाले । डायना आफू अमेरिकाबाट पढाइ सकेर व्यापारको शिलशिलामा दुबईमा रहेको बताउँथिन् । जैन मुम्बईमा आफ्नो ब्यापारको बारे डायनालाई बताउँथे ।

यसरी फेसबुकबाट साथी बनेका उनीहरुबीच विश्वासको बाताबरण बन्यो । जैन डायनालाई भेट्न १५ दिन अघि दुबई पुगे । दुवईमा डायना भेटेपछि जैनलाई लाग्यो, साच्चिकै उच्च व्यापारी घरनाकी छोरी हुन् । डायनाको अंग्रेजी भाषा राम्रो थियो ।

हातको घडी, खुट्टाको जुत्तासमेत उच्च ब्राण्डका थिए । उनी जैनलाई भन्थिन्, ‘मेरो बुवाको सिंगारपुर, दुबई र भारतमासमेत विभिन्न व्यापारिक कम्पनी छन् । भारतमा ब्यापार बिस्तारको लागि बुवासँग तिमीलाई भेटाउछु ।’ जैनले नपत्याउने कुरै थिएन ।

प्रहरीका अनुसार जैनले डायनालाई भने, ‘तिमी मेरो बहिनी जस्तै हो । राम्रो मान्छेसँग भेट भयो । बरु केही दिनलाई मेरो घर मुम्बई जाऔं । मेरो ब्यापार पनि देखाउँछु ।’

डायना जैनको कुरामा राजी भए उनी एक हप्ताअघि दुबई हुदै मुम्बई पुगिन् जैनले घर लगेर बहिनी नाता लगाउँदै श्रीमती र परिवारसँग भेट पनि गराए ।

केही दिन मुम्बई बसेपछि डायना जैनलाई लिएर गत बिहीबार काठमाडौं फर्किइन् । जैनलाई होटलमा राखरे आफू बालकुमारीस्थित कोठामा गईन् । जैनको मनमा शंकाले डेरा जमाउन थाल्यो, ‘व्यापारी घरनाकी बहिनीले आफ्नै घरमा लिनुको साटो होटलमा त्यो पनि सामान्य ।’

शुक्रवार बिहानै जैनलाई डायनाले फोन गरेर भनिन्, ‘दाई मेरो दुबईबाट सुन आयो । ४० लाख चाहिएको छ । बुवासँग सम्पर्क हुनसकेको छैन । हजुरले मिलाई दिनु पर्यो ।’

जैनले नेपालमा रहेका आफ्ना ब्यापारीसाथीबाट शुक्रबार नै २३ लाख खोजेर डायनालाई दिए ।

पैसा कोठामा राखेर मुम्बईको टिकट
शुक्रबार नै २३ लाख मध्ये ३ लाख आफ्नो बुवालाई मोहत्तरी पठाएर डायनाले जैनसँगै मुम्बई जाने गरी २ बजेको टिकट लिइन् । जैनले दिएको २३ लाख मुम्बई पुगेर फिर्ता गर्ने भन्दै जैनलाई आस्वास्त पारिन् ।

अनि विमानस्थलबाटै फरार
मुम्बई जान विमानस्थल पुगेकी डायना विमानस्थलबाट जैन लाई छक्याएर भागेपछि बल्ल जैनले आफु ठगिएको पत्तो पाए । महाशाखाका अनुसार मुम्बई जान जैनलाई नर्मल इमिग्रेसन विभागबाट पठाएर आफू भिआइपी कक्षबाट आउछु भन्दै उनी भागेकी हुन् । डायना भागेको थाहा पाएपछि जैनले मुम्बईको टिकट रद्ध गरेर प्रहरी कार्यालय टेकु पुगेर आफु ठगिएको उजुरी गरे ।

त्यही उजुरीको आधारमा डायनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार डायना नियमित दुबइ जाने गरेको खुलेको छ । उनी हालसम्म ५ पटक दुबई आउजाउ गरेको खुलेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । उनी सामान्य परिवारकी सदस्य भएको थापाले बताए । डायनामाथि ठगी मुद्धामा अनुसन्धान भइरहेको उनको भनाइ छ ।