Swornakshar Logo

कुमारको हत्याको बदला लिन्छौः विप्लव नेकपा


५ असार । काठमाडौं । विप्लव नेतृत्वको नेपालक म्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ताको प्रहरीले हत्या गरेको बताएको छ । आज त्यो पार्टीको जनकपुर ब्युरोले विज्ञप्ती निकालेर पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको जनाएको छ ।
पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पौडेललाई सहिद घोषणा गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘केपी–पीके सामाजिक दलाल सरकारले हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेललाई आज (बिहीबार) दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका कुमार पौडेललाई नेपाल कम्युनिस्ट पार्टी महान् सहिद घोषणा गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जुझारु एवम् कर्तव्यनिष्ठ कमरेड कुमार पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हामी शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’ विज्ञप्तिको पुर्णपाठ