Swornakshar Logo

जनताको चाहना अनुसार यो सरकारले काम गर्न सकेनःमोहन बैद्य


५ असार । हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य “किरण”ले हालको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै महाचिव किरणले यो जनताको आवश्यकता एकातर्फ र सरकारको कामकारबाहि अर्का तर्फ भएको आरोप लगाए ।
उनले नेपाली कम्युनिष्टहरुले चाहेको पहिचान सहितको संघियता नआएको दाबी गरे । उनले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नचाहेको पनि आरोप लगाए ।
आफुले १५ खर्ब बरारबरको बजेट ल्याउने केन्द्र सरकारले सात प्रदेशमा करिब २ खर्ब बराबरको बजेटमात्र बनाउने नीति अख्तियार गर्नुले पनि केन्द्र सरकार स्थानीय तथा प्रदेश सरकारप्रति कति अनुदार छ भनेर प्रष्ट पारेको उनले बताए ।

आफुहरुले पहिचान सहितको संघियताको परिकल्पना गरेकोमा अहिले भूगोलको आधारमा संघियता लागु गरिएको भन्दै उनले असन्तुष्टी ब्यक्त गरे । विप्लव नेतृत्वको पार्टीसँग एकताको विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै किरणले तत्काल पार्टी एकताको संभावना नरहेको बताए । उनले भने ‘ आजभोली विप्लव जि को पार्टी र हाम्रो पार्टीको वैचारिक दृष्टिकोण फरक हुँदै गएको छ । उहाँहरु र हामीहरु टाढा हुँदै गएका छौ ।’

सरकारले आफु निकट संसदीय दल तथा पार्टीमा आन्तरिक छलफलनै नगरि विधेयकहरु धमाधम ल्याउने काम गरेको भन्दै उनले सरकार फाँसिवादतर्फ उन्मुख भएको आरोप लगाए । विना तयारी तथा छलफल ल्याएको गुठी विधेयक फिर्ता गर्नुपरेको उदाहरण दिँदै उनले मीडिया काउन्सीलको विरोधपनि फिर्ता गर्नुपर्ने धारणा ब्यक्त गरे ।

नेकपा क्रान्तिकारी माओवादी निकट युवाहरुको संगठन क्रान्तिकारी युवा लिग नेपालको पहिलो केन्द्रीय अधिवेशनको भोलीबाट हेटौँडा सुरु हुदै छ । भोलीबाट दुईदिन सम्म चल्ने केन्द्रीय अधिवेशनलाई किरणले सम्बोधन तथा प्रशिक्षण दिने बताईएको छ ।