Swornakshar Logo

गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण प्रचार गरियोः प्रधानमन्त्री ओली

३ असार । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण कुराको प्रचार गरिएको बताएका छन् । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले गुठीको संरक्षणका लागि विधेयक ल्याइएको बताए । ‘म युरोप भ्रमणमा रहेका बेला यता गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण कुरा प्रचार गरिएछ,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले प्राधिकरण बनाएर त्यसैले गुठी सञ्चालन गर्ने भन्ने व्यवस्था विधेयकमा नरहेको उनले बताए ।
ओलीले लोकतन्त्र, संघीयता र सार्वभौमसत्ताविरुद्ध घोर दक्षिणपन्थीदेखि घोर वामपन्थी शक्तिको मोर्चाबन्दी भएको आरोप लगाएका छन् ।

त्यस्तै, उनले कांग्रेसले असंसदीय व्यवहार देखाएको पनि बताए । आफू मात्रै ठीक छु भन्ने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था अघि बढ्न नसक्ने उनको भनाइ थियो ।

संसदमा प्रधानमन्त्रीपछि अन्य वरीयताअनुसार बोल्ने प्रचलन रहेको भन्दै उनले कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्यअनुसार काम गरेको बताए ।

‘मलाई आश्चार्य लाग्यो, मेरो लामो समयदेखिका मित्र देउवाले वेल घेर्नुभो । म आश्चर्यचकित भएँ । उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो,’ ओलीले पत्रकार सम्मेलनमा भने ।

आफूले संसदमा बोल्न नपाएर पत्रकार सम्मेलन गरेर बोल्न खोजेको भ्रममा नपर्न आग्रह गर्दै उनले भने,
‘संसदमा अमर्यादित गतिविधि भयो । यसले संकेत गर्न खोजेको तर्फ देशवासीलाई ध्यानाकर्षण गर्नै पत्रकार सम्मेलन गरेको हुँ ।’

बलिदानपूर्ण संघर्षबाट आजको अवस्था आएको भन्दै उनले संघीयता र गणतन्त्रविरुद्ध जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी स्पष्ट देखिएको बताए ।

‘घोर दक्षिणपन्थीदेखि घोर वामपन्थी तत्त्वसम्म एकजुट भएको देखिन्छ, लोकतान्त्रिक शक्तिबीच एकता हुुनुपर्नेमा त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै लागेको देख्दा आश्चार्य लागेको छ,’ उनले भने ।

उनले सरकार स्वतन्त्र र जिम्मेवार प्रेसको पक्षमा रहेको भन्दै मानवअधिकारप्रति पनि उत्तिकै सचेत रहेको बताए ।

देशमा सम्प्रदायिक विद्वेष फैलाउन खोज्नेसमेत देखिएको बताउँदै आफू यस्ता गतिविधि रोक्न लाग्ने बताए । सामाजिक न्याय र समानतामा आफ्नो पार्टी र सरकार पछि नहट्ने उनको भनाइ छ ।

शान्ति र स्थायित्वको पक्षमा मात्र होइन, समृद्धिको पक्षमा सरकार दृढतासाथ लागेको उनले बताए । समृद्धिको यात्रामा कसैले कुनै षड्यन्त्र गरेर नरोकिने उनले बताए ।

आफ्नो युरोप भ्रमणको प्रसंग उठाउँदै उनले आईएलओ र अक्फोर्ड विश्वविद्यालयको भ्रमण, बेलायतका प्रधानमन्त्री र राजकुमार ह्यारीसँगको भेटघाट तथा गोर्खासँग समेत छलफल गरेको जानकारी दिए । यसले नेपाल र बेलायतबीचको २ सय ३ वर्ष पुरानो सम्बन्ध अझ सुदृढ भएको उनले बताए ।