Swornakshar Logo

मजदुरले हड्ताल गरेपछि हायात होटल ४ दिनदेखि बन्द

काठमाडौं । मजदुर र हाेटल सञ्चालकहरुबी विवाद चुलिँदा बाैद्धस्थित पाँचतारे हाेटल हायात रिजेन्सीकाे काम नै ठप्प भएकाे छ । हाेटल व्यवस्थापन पक्षले केही मजदूरलाई तोकिएको समयमा काममा नआएको भन्दै स्पष्टीकरण सोधेपछि सुरु भएको विवादका कारण होटल नै बन्द हुन पुगेकाे बताइएकाे छ ।

कर्मचारी/मजदूरहरुको हड्तालका कारण ४ दिनदेखि हाेटल बन्द रहेकाे छ । हाेटलका मजदूर/कर्मचारीलाई उचित सेवा-सुविधा र तलब दिन आनाकानी गरेपछि उनीहरुले बिहीबारदेखि नै आन्दोलन सुरु गरेका थिए । उनीहरुले काम नगरी हड्ताल सुरु गरेपछि हायातले आफ्ना पाहुना/पर्यटकहरुलाई अन्यत्रै हाेटलहरुमा सारेकाे छ ।

लामो समयदेखि हायात होटलले कामदारहरुलाई काममा लगाउने तर सेवा-सुविधालगायत बिदा दिनसमेत आनाकानी गर्ने गरेकाे भन्दै हडतालमा उत्रिनुपरेकाे अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए । उनका अनुसार हायातले नेपाली कामदारहरुलाई प्रतिस्थापन गर्न विदेशी कामदार ल्याउन थालेपछि विवाद बढेकाे हाे ।

श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुले पाउनुपर्ने बिदा लगायत अन्य सेवा सुविधा, कर्मचारीहरुको ग्रेड वृद्धि हुनुपर्ने माग गर्दै उनीहरु आन्दाेलित भएकाे जनाइएकाे छ । होटल हायात रिजेन्सीका एचआर कोअर्डिनेटर सुरेश केसीले भने कर्मचारीहरुले अनावश्यक माग राखी आन्दोलन गरेको जिकिर गरे । हायातका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले भने मजदुर विवादका कारण हाेटल बन्द गर्नुपरेकाे र विवाद समाधानका उपाय भइरहेकाे जानकारी दिए ।

तर संघका महासचिव दाहालले भने व्यवस्थापनकै कमजाेरी रहेकाे बताएका छन् । व्यवस्थापनले स्वास्थ्य बीमा सुविधा कटौंती गरेको र उच्च व्यवस्थापनमा भारतीय कर्मचारी नियुक्ति गरेकाेले विवाद बल्झिएकाे उनकाे भनाइ छ ।