Swornakshar Logo

मिडिया र गुठी विधेयक कुनै हालतमा पास हुँदैनः देउवा

३१ जेठ । हेटौडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका मिडिया र गुठी विधेयक कुनै हालतमा पारित हुन नदिने चेतावनी दिएका छन् । शुक्रबारबाट हेटौंडामा सुरु भएको कांग्रेस निकटको नेपाल सांस्कृतिक संघको राष्ट्रिय प्रशिक्षण भेलामा उनले गुठी सम्बन्धि विधेयक र मिडिया काउन्सिल विधेयक कुनै हालतमा पारित नहुने दावी गरेका हुन् ।

गुठी नेपालीहरुको संस्कृति र सभ्यता भएको दावी गर्दै उनले यो विधेयक कुनै हालतमा पारित हुन नदिने चेतावी दिए ‘यो सरकारले स्वतन्त्र प्रेसलाई पनि नियन्त्रणमा लिन खोजेको छ । प्रेस काउन्सिललाई लत्याएर पत्रकारलाई दण्डित गर्ने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक पनि कुनै हालतमा पारित हुँदैन’, देउवाले भने, ‘गुठी र मिडिया माथिको विधेयक कुनै हालतमा स्वीकार्य हुनेछैन ।

नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले लेखेको नेपाली कांग्रेसको संक्षीप्त परिचय नामक पुस्तक आज विमोचन गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले हेटौँडामा आयोजित एक समारोहमापुस्तक बिमोचन गरेका हुन् । ६० पुष्ठ रहेको पुस्तकमा, नेपाली कांग्रेसको इतिहास, बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुको जीवनी समेत राखिएको छ ।
कांग्रेसको नेतृत्वमा भएका आन्दोलन, विमान अपहरण, ओखलढुङ्गा काण्ड, जनकपुर बम काण्ड राष्ट्रिय मेलमिलाप नीति , २०१७ सालमा राजा महेन्द्रको कु पछिको सशस्त्र संघर्ष लगायतका विषय पुस्तकमा समेटिएको छ ।

कांग्रेसका बारेमा सहज जानकारी हासिल गर्न यो किताब उपयोगी हुने लेखक महतले बताए ।