Swornakshar Logo

प्रदेश ३ सरकारले ४८ अर्बको बजेट ल्याउदै

३१ जेठ । हेटौडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७६ –७७ का लागि बजेट सार्वजनिक गर्न तयारी पूरा भएको जनाएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष२०७६–२०७७का लागि करिब ४८ अर्ब रुपैयाँबराबरीको बजेट ल्याउने तयारी गरेको छ । आगामी १ असारमा प्रदेशसभामा प्रस्तुत गर्ने बजेटको सबैजसो तयारी पूरा भएको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

बजेटको सबैभन्दा ठूलो रकम पूर्वाधारका क्षेत्रमा खर्च गर्न लागिएको छ । प्रदेश सरकारले प्रदेश गौरवको योजनाअन्तर्गत पोष्टबहादुर बोगटी भीमफेदी–काठमाडौं सुरुङ मार्ग निर्माणका लागि बजेट छुट्याएको छ । त्यस्तै, प्रदेशका सबै जिल्लालाई समेट्ने गरी पुष्पलाल चक्रपथ निर्माण गर्न लागिएको छ ।

त्यसैगरी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको योजनाका रुपमा अगाडि बढाइएको छ । हेटौंडा अस्पतालको क्षमता वृद्धि गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने तयारी गरिएको हो । त्यस्तै, मदन भण्डारी सडक निर्माणका लागि बजेट छु्ट्याइएको र गौरवका योजनाका रुपमा अगाडि बढाइने भएको हो ।

चालू आर्थिक वर्षका केही महत्त्वपूर्ण योजनालाई गौरवका योजनाका रुपमा सरकारले लिएको थियो । तर, रकम खर्च गर्न नसकेपछि आगामी आर्थिक वर्षको योजनामा पनि गौरवका योजनाका रुपमा अगाडि बढाइएको छ । प्रदेशमा डिजेल पेट्रोलबाट चल्ने सवारी साधनमा न्यूनीकरण गर्ने गरी बजेट ल्याउने तयारी गरिएको छ ।

देशमा विकल्पसहित प्लास्टिक निषेध गर्ने तयारी गर्ने गरिएको मन्त्री ढुंगेलले बताए । गत वर्ष ल्याइएको बजेटभन्दा ठूलो आकारको बजेट ल्याइने उनले बताए । चालू आर्थिक वर्षको बजेटभन्दा थप परिष्कृत गरेर बजेट ल्याउने तयारी भएको उनले बताए । कृषि, वन, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा बजेट ल्याइएको उनले बताए ।

प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका नागरिकलाई समेट्ने गरी बजेट ल्याउने तयारी भएको मन्त्री ढुंगेलले बताए ।