Swornakshar Logo

सरकारले असारमा विदेश नीतिसम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने


जेठ १९ । काठमाण्डौ । सरकारले आउँदो असार १४ गते काठमाण्डौमा विदेश नीतिसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले लिएको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा हुनेगरी आवश्यक विदेश नीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।

आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उनले ‘विदेश नीतिका सम्बन्धमा राष्ट्रिय संवाद’ नाम दिइएको सो सम्मेलनमा संघीय संसदका सांसदहरु, कूटनीतिक तथा कूटनीतिक क्षेत्रका जानकारहरु, पूर्व परराष्ट्रमन्त्रीहरु, विभिन्न क्षेत्रका अध्ययन र अनुसन्धानमा कार्यरत विज्ञहरु सहभागी हुने जानकारी पनि दिए ।

सम्मेलनमा नेपालको परराष्ट्र नीतिलाई बदलिँदो परिवेश अनुसार कसरी समृद्ध बनाउने भन्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आर्थिक क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन पनि राष्ट्रिय सम्मेलन उपयोगी हुने परराष्ट्रमन्त्री ज्ञवालीको बुझाइ छ ।