Swornakshar Logo

त्रिशुली बस दुर्घटनाः मृत्यु हुनेको संख्या ९ पुग्यो


५ जेठ । काठमाडौं । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाडौंका लागि आउदै गरेको बस त्रिशूली नदिमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
पृथ्वी राजमार्गबाट ५० मिटर तल ना. ७. ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख (इन्सपेक्टर) नवराज ढुंगेलले बताए ।

दुर्घटनामा परी मृत्यु हनुेमा इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, धादिङ वेनिघाट रोराङका राजन आचार्य, काठमाडौं चन्द्रागिरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र काठमाडौकै थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् ।

यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगर रहेका छन् । उनीहरुको भने ठेगाना खुल्न नसकेको इन्सपेक्टर ढुंगेलले बताए । अन्य ३ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

नामथर नखुलेको वर्ष ४० का एक पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । यस्तै वतन नखुलेको अन्दाजी ३० ३२ वर्षका एक पुरुष र नामथर वतन नखुलेको अन्दाजी वर्ष २०÷२२ को पुरुषको शव दिउँसो ३ बजेतिर घटनास्थलमा फेला परेको थियो ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । जसमा १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उद्दारपछि तत्काल काठमाडौं पठाइएको थियो ।

बाँकी घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।