Swornakshar Logo

नेपालमा कम्युनिष्टको दुई तिहाइको सरकार हुनु देशकैलागि दुर्भाग्य होः रामचन्द्र पौडेल

१४ वैशाख । रौतहट । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारी कम्युनिष्टहरुको सरकारको आयुु लामो नरहेकाले अब बढी नटिक्ने टिप्पणी गरेका छन् ।

रौतहटको राजपुर फरहदवास्थित शनिवार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले काण्डैकाण्डमा मुछिएका कम्युनिष्टहरुको सरकारले जनताकालाई ठग्ने काम मात्र गरिरहेको आरोप लगाए ।

कम्युनिष्टहरुले समृद्धी र विकासको झुठा नारा दिएर जनतालाई ठगेको मात्र होइन अहिले सरकारमा लुटतन्त्र मचाइरहेको पनि बताए ।

अरबौं भ्रष्टाचार काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटारको जग्गा काण्ड, बाइडबडी काण्ड हुँदाहुँदै अहिले खुलामञ्च टुुँडीखेल बेच्नेमा सरकार लागि रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

बिपी कोइराला, गणेशमान, गिरिजाबाबु, मनमोहन सिंहजस्ता देशका नेताहरुले भाषण गरेको ठाँउ खुलामञ्चलाई बेच्ने खेलमा सरकार लागिरहेको उनले बताए ।

हत्या हिंसाबाट सत्तामा आउने कम्युनिष्टहरु संसारबाट हराइरहेका बेला नेपालमा दुइतिहाईको सरकार हुनु देशको लागि दुर्भाग्य रहेको उनको भनाई रहेको छ ।

देशमा शान्ति सुरक्षा दिन नसकेको सुशासन र विकास दिन नसकेको कम्युनिष्टको सरकारमा अहिले नयाँ शोषकको जन्म भइसकेको नेता पौडेलेले बताए ।

‘प्रधानमन्त्री केपी ओली पानीजहाजको कुरो गर्छन् । तर हामी पानीको मात्र कुरो गर्छौं,’ उनले भने, ‘मेलम्चीको पानी काठमाडौंसम्म पुर्याएमा बागमतीमा पानी बढ्ने र उक्त पानीले तराईमा सिचाईं हुन्छ ।’

कांग्रेसले ल्याएको ठुला–ठुला योजनाको हाल वर्तमान सरकार उद्घाटन गर्न र फोटो खिचाउनमा व्यस्त रहेको उनले आरोप लगाए

२००७ सालमा राणाविरुद्वको आन्दोलनको सुरुआत रौतहटको सदरमुकाम पारी बैरगनियाबाट कांग्रेसकै नेतृत्वमा सुरु भएको इतिहास बताउँदै उनले कांग्रेससँग मधेस अलग हुनै नसक्ने दावी गरे ।