Swornakshar Logo

यो बर्ष गुमाएका नेताहरु

१ बैशाख । काठमाडौ ।  २०७५ साल राजनीतिक बृत्तमा समेत घाटाको बर्ष बन्यो । मूलुकले यस्ता नेता गुमाए जो जेष्ठ नागरिकदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मले रुचाएका पात्रसमेत थिए ।

भरतमोहन अधिकारी
नेकपाले यो वर्ष धेरै नेताहरू गुमाएको छ । पुराना कम्युनिस्ट नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भयो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएका भरतमोहनले ‘आफ्नो गाउँ आफैं बनाऊ’ र ‘वृद्धभत्ता कार्यक्रम’ ल्याएका थिए ।

तुलसी गिरी, पूर्वप्रधानमन्त्री

पूूर्वप्रधानमन्त्री तुलसी गिरीको ३ पुसमा निधन भएको थियो । उनी लामो समयदेखि बिरामी थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषद उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजो क्यान्सरपीडित थिए । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका गिरी २०१७ सालपछि पञ्चायत छिरेका थिए । २०३६ सालमा वीरेन्द्र शाहसँग असहमति जनाउँदै श्रीलंका गएर बसेका थिए ।

उनी २०६१ सालमा नेपाल फर्केर ज्ञानेन्द्रलाई सहयोग गरेका थिए । उनी २०१७ सालपछि राजतन्त्रको पक्षधर भएर बसे । उनको निधन ९३ वर्षको उमेरमा भएको हो ।

चक्र बाँस्तोला, नेता नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाको निधन २८ असोजमा भयो । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए । चिकत्सकले मस्तिष्कघात भएकाले उपचार सम्भव नभएको बताएका थिए । उनी २०६९ मा मोरङमा भएको कार्यक्रममा सहभागी हुँदा मस्तिष्कघात भएको थियो । उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा थिए । भारतका लागि नेपाली राजदूत र परराष्ट्रमन्त्री पनि बनेका थिए ।

रवीन्द्र अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ४९ वर्षीय रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । १६ फागुनमा ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने समयमा चिहानडाँडामा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा उनीलगायत ७ जनाको निधन भएको थियो । अधिकारी नेकपाका युवा नेता हुन् । उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता थिए । उनी कास्की २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

पद्म रत्न तुलाधर
१८ कात्तिक २०७५ मा नागरिक अगुवा तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भयो । मस्तिष्कघातको कारण काठमाडौंको नर्भिक अस्पतालमा ७८ बर्षको उमेरमा उनको मृत्यु भएको हो ।

मानव अधिकारवादी तुलाधर २०६२र०६३ को आन्दोलनताका उनी नागरिक समाजको अगुवाका रूपमा परिचित थिए तथापि उनले नेपाल भाषाका माध्यमबाट नेपाली साहित्यलाई पनि ठुलो योगदान गरेका छन् । उनको नेपाल भाषामा नाटक ९ख्यालः०, निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् ।

तुलाधर राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन् । तुलाधर २०५१ सलामा एमाले नेतृत्वको सरकारको पालामा श्रम तथा स्वास्थ्यमन्त्री समेत भए ।

हरिशरण लामिछाने
प्रदेश ३ का सांसद हरिशरण लामिछानेको ३१ वैशाखमा ५१ वर्षको उमेरमा निधन भयो । उनी भक्तपुर १ को ‘क’बाट निर्वाचित सांसद हुन् । उनको मस्तिष्कघातका कारण निधन भएको थियो ।

टेकबहादुर घर्ती
टेकबहादुर घर्तीको २७ मंसिरमा ४६ वर्षको उमेरमा निधन भएको थियो । उनी बाग्लुङ २ ‘ख’बाट गण्डकी प्रदेश सांसद हुन् । उनी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । उनको जन्डिसका कारण दिल्लीको अपोलो अस्पतालमा निधन भएको थियो ।

उत्तमकुमार वली
उत्तमकुमार वलीको १० फागुनमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । ३७ वर्षीय वली २४ माघमा बुटवलबाट दाङ फर्कंदै गर्दा घोराही सडकखण्डमा दुर्घटनामा परेका थिए ।