विप्लवद्धारा १६ गतेको नेपाल बन्द फिर्ता (विज्ञप्ती सहित)
१३ चैत । काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ । बार एसोसियसन तथा राष्ट्रिय मानवअधिकार आयोगको आग्रहमा विप्लव नेतृत्वको नेकपाले चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १६ गते नेकपाले आह्वान गरेको नेपाल फिर्ता लिन आग्रह गरेको थिायो । आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बन्दका कारण विद्यालयका बालबालिकाको एसइई परीक्षा एवं सोही दिनका लागि निर्धारण गरिएको कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको केन्द्रीय समितिको देशव्यापी निर्वाचनमा समेत असर पर्ने देखिन्छ ।’
सरकारी प्रतिबन्ध र दमनका विरुद्ध (विप्लव) नेतृत्वको नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम समेत दिएका थिए । चरणबद्ध संघर्षका कार्यक्रम अनुसार चैत १६ गते शनिबार नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो ।
यसअघि नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन विप्लव नेतृत्वको नेकपासंग आग्रह गरेको थियो । १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ । नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण आफूहरुको निर्वाचन प्रभावित हुने भन्दै बार एसोसिएसनले बन्द फिर्त लिन आग्रह गरेको हो । यस्तै बुधबार राष्ट्रिय मानवअधिकार आयोगले पनि नेपाल बन्द फिर्ता लिन नेकपालाई आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: