Swornakshar Logo

साउदी युवराज चीन भ्रमणमा जाने

४ फागुन । बेइजिङ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले चीनको पनि भ्रमण गर्ने भएका छन् ।
उनले यही फेब्रुअरी २१ देखि २२ तारिख सम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहनुभएका सलमान चीनका उपप्रधानमन्त्री हान झेङको निमन्त्रणामा चीन भ्रमण गर्न थालेका हुन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भ्रमणका क्रममा युवराज सलमानले चिनियाँ उच्च अधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
उनले यसअघि पाकिस्तानको दुई दिने भ्रमण यही फेब्रुअरी १६ र १७ तारिखमा गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि यही फेब्रुअरी १८ देखि १९ सम्म युवराज सलमानले इन्डोनेसियाको भ्रमण गर्ने जनाइएको छ । इन्डोनेसिया आउनु भन्दा अगाडी उनले मलेसियाको पनि भ्रमण गर्नेछन् भने त्यसपछि उनी भारत आउनेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उनको दुई दिने भारत भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीले जनाएका छन् । भारतपछि उनी चीन आउने भएका हुन् ।

साउदी युवराजको आसन्न भ्रमणको तयारीका लागि संवन्धीत देशहरुले सुरक्षा व्यवस्थाको तयारीलाई तीव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन् ।

त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्वन्धीत देशहरुमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

उनको सवै भ्रमण आपसी सम्वन्ध, दुई पक्षिय हित र सहयोग आदान प्रदानका विषयमा केन्द्रीय हुने समाचारमा जनाइएको छ ।

युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् । रासस÷सिन्ह्वा