Swornakshar Logo

हामीबीच फाँटो आउदैन कसैले त्यो सपना देखेको छ भने पुरा हुदैनःप्रधानमन्त्री ओली

१ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असमझदारी बढाउन धेरैतिरबाट प्रयत्न भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पार्टीमा फुट ल्याउने धेरैतिरबाट प्रयास भइरहेपनि त्यो सफल नहुने बताए।
आज राजधानीमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बा, आमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो पार्टीभित्र झगडा लगाउने थामिनसक्नुको प्रयास भरहेको बताए ।

उनले भने ‘बा को कानमा गएर भन्ने, बा आमा बोक्सी छे । आमाको कानमा गएर भन्ने, आमा बा जड्याहा भइसके ।’
प्रधानमन्त्री ओलीले अगाडी भने ‘बा, पत्याउनुहुन्न तर आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ? नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।’
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले ‘भैंसी हेरेर एउटा जीवले भन्छ, मरेपछि खाउँला । तर भैंसी मर्नुको सट्टा झन्झन् मोटाउँछ, ब्याउँछ, पाडापाडी पनि पाउँछ । अनि त्यो जीवले भन्छ, म यही दिन देख्नका लागि बाँचेको रहेछु । तर भैंसी पाल्नेले त्यही दिन देख्नका लागि पालेको हो । र, नेपालीले देख्न चाहेको पनि त्यही दिन हो ।’
देश सुशासन, समृद्धि र विकासतर्फ अगाडि बढिसकेको भन्दै अब यो यात्रा नरोकिने बताएका छन् ।

ऋषिमुनीको सन्तान के भएर गए
नेपाल विद्धान् र ऋषिमुनीहरुको देश भएपनि पछिल्लो समय अपराध र भ्रष्टाचारले शिर झुक्ने अवस्था आएको प्रधानमन्त्रीको गुनासो थियो । उनले प्रश्न गरे ‘नेपालीहरु विद्धानको सन्तान, ऋषिमुनीको सन्तान तर अहिले के भएर गए ?’

देशमा अपराध र भ्रष्टाचार बढ्नुको कारण अशिक्षा र गरीबी रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले बिस्तारै यी दुवैलाई हटाउने दाबी गरे ।

उनले भने ‘यदि सबैले समुचित काम पाउने हो भने यो गरीबी रहने थिएन । हामी नेपाललाई परिवर्तन र रुपान्तरण गर्न चाहन्छौँ । गरीब देशबाट समृद्ध देश, अनपढबाट विद्धान, अल्पविकसितबाट विकसित भनेर पहिचान बदल्न चाहन्छौँ ।’
प्रधानमन्त्री ओलीले बेरोजगारीप्रति लक्षित गर्दै ‘भारी टाउको बिना ज्याला बोक्ने दिनको अन्त्य’ गरिने बताए ।

अहिले सरकारसँग स्पष्ट नीति, गन्तब्य र कार्यदिशा भएकाले अब विकासको लहर समातिसकेको उनले दाबी गरे ।
भेनेजुएला प्रकरणमा बचाउ
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणलाई उचालेकामा आक्रोश व्यक्त गरेका छन् ।

उनले भने ‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्नें धेरै कोशिश भएको छ । यो ब्ल्यांक फायर होइन, कतै ताकेको छ । यस्तै–यस्तै कुरा सुनाउने प्रयास भएको छ । त्यो कुनै काम लाग्नेवाला छैन ।’
नेपालको विदेश नीतिबारे थप प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भने ‘कुनै देशमा आन्तरिक समस्या छ भने त्यहि देशका नागरिक मिलेर हल गर्नु पर्छ तर बाह्य हस्तक्षेप हुनु हुदैन । सबै सार्वभौम राष्ट्रको सम्मान गर्नु पर्छ । हामी हस्तक्षेपको विरोधी हौ ।’
सरकारको आयु ५ वर्ष नै हो
फागुन ३ गते शुक्रबार सरकारको १ वर्ष पूरा हुने भन्दै नेपालको लागि यो नै महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको जिकिर छ । उनले भने ‘यो सरकार ५ वर्ष आरामसँग जान्छ । यो सरकार स्थिर सरकार हो ।’