Swornakshar Logo

भेनेजुयलामाथी अमेरिकी हस्तक्षेप गलत होः नेपाल सरकार

१६ माघ । काठमाडौं । कसलाई वैधानिक राष्ट्रपति मान्ने विषयमा विश्वका शक्तिशाली देशहरूबीच ध्रुवीकरण भइरहेका बेला भेनेजुयलाका बारेमा नेपालले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।

भेनेजुयलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ ।
सरकारले घुमाउरो तरिकाले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गरेकोछ । नेपालले भेनेजुयलामाथि बाह्य हस्तक्षेप हुन नहुने धारणा राखेको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत शुक्रबार भेनेजुयलामाथि अमेरिकाले चालेको पछिल्लो कदमको कडा शब्दमा आलोचना गर्दै विज्ञप्ति जारी गरेका थिए । तर उनकै पार्टीमा झलनाथ खनाल लगाएतका नेताले प्रचण्डको सो धारणाको खण्डन गरेका थिए ।

दुई तिहाइ बहुमतको सरकार चलाइरहेको पार्टीका अध्यक्षले निकालेको विज्ञप्तिपछि भेनेजुयला बारे सरकारको आधिकारिक धारणा के हो भन्नेमा आम चासो आज मेटिएको छ ।

सरकारले विज्ञप्ति मार्फत भेनेजुयलामा कुनै बाह्य हस्तक्षेप हुन नहुने आफ्नो मान्यता भएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ, कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनुहुँदैन, आन्तरिक राजनीतिक मतभेदको निरूपण संवैधानिक मापदण्ड र लोकतान्त्रिक मूल्यमान्यता अनुसार हुनुपर्छ ।

त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजिकबाट नियाल्दै आएको जनाउँदै सरकारले अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय भेनेजुयलाका जनतामा निहित रहेको उल्लेख गरेको छ । दुई तिहाइ बहुमतको सरकार चलाइरहेको पार्टीका अध्यक्षले निकालेको विज्ञप्तिपछि भेनेजुयला बारे सरकारको आधिकारिक धारणा के हो भन्नेमा आम चासो आज मेटिएको छ ।