Swornakshar Logo

सुदूरपश्चिमका मन्त्री सोडारी बर्खास्त,सुवेदी नयाँ मन्त्री हुने

२७ कार्तिक । काठमाडौं । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।
सोडारीले आफ्नो पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले मन्त्री पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताए । उनले भने‘पार्टीले पटक पटक सम्झाउदा पनि अटेर गरेकाले आज पदबाट हटाएको हो ।’
यसअघि प्रदेश इन्चार्ज भिम रावलको निर्देशनमा सोडारीलाई पदबाट हटाइएको बुझिएको छ ।
तिहारको बेला सोडारीले चढ्ने गरेको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो ।
सोडारी तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष हुन । सोडारीको ठाउँमा तत्कालिन एमालेबाट निर्वाचित कृष्णराज सुवेदी नयाँ मन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीले अहिले बेलुकी ४ बजे सपथ लिने कार्यक्रम छ । सवेदी कैलाली ४ (ख) बाट निर्वाचित सांसद हुन ।प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पुर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।