Swornakshar Logo

राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

२३ कार्तिक ।

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् ।

सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन। ‘पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग¥यौँ’, उनले भनिन, ‘सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौँ र स्थानीय सरकारका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौँ ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष राईसहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए ।

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडाध्यक्ष उमेश कार्कीले बताए । ‘सबैतिर तिहारको रौनक हुँदा उनीहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरेको हो’, अध्यक्ष कार्कीले बताए। उनका अनुसार वडाले प्रतिपरिवार रु पाँच हजारका दरले सहयोग गरेको छ। नेपाली काङ्ग्रेसका स्थानीय नेता राममणि राईले पनि वाक्साका अग्निपीडितलाई चामल, नुन तेललगायत सामग्री सहयोग गरेका छन ।

केही दिनअघि बच्चाले महुरीलाई आगो लगाउन खोज्दा शुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चारवटै घरका पशु चौपाय र घरभित्र भएको धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैँसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र नौ बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीको पनि घर जलेको छ । आगाले रु एक करोड हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडित छिमेकी र आफन्तको सहारामा बसेका छन् ।