प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
चैत १३ मा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो । जब कि अहिलेसम्म प्रधानमन्त्री भएपछि छिमेकी भारतको भ्रमण गर्ने चलन थियो । २०६५ सालमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण चीनमा भएको थियो ।
प्रधानमन्त्री शाहसहित ९ जनाको टोलीसहित कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट न्युयोर्क प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टोलीमा प्रधानमन्त्रीसहित सचिवालयका ५ जना प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्य छन् । यसैगरी सुरक्षाका २ जना, परराष्ट्र शिष्टाचार महापाल विभागका २ जना छन् ।
न्युयोर्क उड्नुअघि प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा गार्ड अफ अनर प्रदान गरिनेछ ।
प्रधानमन्त्री शाहले न्युयोर्कमा राष्ट्रसंघीय महासभा उच्चस्तरीय बैठकलाई असोज ९ गते विहान सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको बाढी, त्यसले पारेको प्रभाव, जलवायु परिवर्तन, न्यायका विषय उठाउने तयारी छ ।
प्रधानमन्त्री शाह तीन दिन न्युयोर्कमा रहँदा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अरु कुनै पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छैन ।
प्रधानमन्त्री शाह १० असोजमा न्युयोर्कबाट फर्किनेछन् ।
त्यसपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्नेछन् । परराष्ट्रमन्त्री खनाल सोमबार न्युयोर्क पुगिसकेका छन् ।
नेपालले राष्ट्रसंघीय महासभाअन्तर्गत सगरमाथादेखि समुद्रसम्मको जलवायुकेन्द्रित कार्यक्रम गर्दैछ । जसको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्: