Bagmati Samachar Logo

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले आयोगको सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका डा. हिरा चन्दलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलका अनुसार आयोगमा अझै दुई जना सदस्य नियुक्त हुन बाँकी छन्।

उपाध्यक्षमा नियुक्त भट्ट कञ्चनपुरका हुन्। उनी नेपाली कम्युनिस्ट पार्टी नेकपाको कोटाबाट प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन्।

यस्तै, आयोगका सदस्यमा नियुक्त जोशी दार्चुला र डा. चन्द कञ्चनपुरका हुन्। उनीहरू दुवै जना नेकपा एमालेको कोटाबाट नियुक्त भएको जनाइएको छ।

प्रदेश सरकारको विकास नीति, योजना निर्माण तथा कार्यान्वयनमा प्रदेश नीति तथा योजना आयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आयोगमा उपाध्यक्षसहित तीन जना पदाधिकारी नियुक्त भएसँगै अब बाँकी दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ।