होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका ३ जना सार्वजनिक, ५ दिन म्याद थप
काठमाडौं । शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो ।
५ भदौको बिहान १० बजेतिर कालाथोकीमाथि चक्कु प्रहार भएको थियो । उपचारका लागि सिभिल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कालाथोकी हत्या प्रकरणमा प्रहरीले बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव १९ वर्षकै प्रमित पटेललाई पक्राउ गरेको थियो । उनीहरु पनि उक्त होस्टलमा बस्ने व्यक्ति हुन् ।
त्यसैगरी होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरलाई पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए ।
पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: