सौतेनी आमा २ वर्षीया नाबालिकाको हत्या गरेको
काठमाडौँ । सप्तरीमा मृत भेटिएकी २ वर्षीया नाबालिकालाई उनकै सौतेनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शम्भुनाथ नगरपालिका–३ घर भएका मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएको दुई घण्टामा मृत भेटिएकी थिइन् । उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो । शव प्रहरीले पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ ।
हत्यामा संलग्न आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जानकारी दिए । मुस्कान मृतक नाबालिकाकी कान्छी आमा हुन् । मोहम्मद इरफानकी जेठी पत्नी र कान्छीको बिचमा विवाद भएको थियो । मृतकका बुवा मोहम्मद वैदेशिक रोजगारीका लागी कतारमा छन् । शनिबार दुई पत्नीको बिचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयहरूले बताएका छन् । ‘सम्पत्तिको हकदार को हुने ?’ भन्नेबारे पनि दुई जनाको बिचमा विवाद भएको थियो ।
पुर्ख्यौली घरमा इरफानका जेठी पत्नी र छोरी बस्दै आएका थिए । कान्छी पत्नी सोही ठाउँ नजिकै डेरा लिएर बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको एसपी खड्काले बताए । उनले भने, ‘घाउचोट देखिँदैन, हत्यामा एक जनाको मात्रै संलग्नता देखिन्छ ।’
नाबालिका हराएको सूचना पाएपछि प्रहरीले उनको खोजतलास सुरु गरेको थियो । हत्याको विरोधमा स्थानीयले आइतबार दिउँसो केहीबेर रुपनी बजार बन्द गराए । अहिले रुपनी बजार र राजमार्गको अवरोध हटेको छ ।

प्रतिक्रिया दिनुहोस्: