Bagmati Samachar Logo

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै, ५ प्रतिवेदन पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला) समूहको राष्ट्रिय भेला शुक्रबारबाट सुरु हुँदै छ । शुक्रबार उदघाटन सत्र मात्रै हुने र शनिबारबाट अरु कार्यक्रम सुरु हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले बताए । उनले भने, ‘शुक्रबार उदघाटन सत्र हुन्छ । शनिबारबाट बन्दसत्रका कार्यक्रम सुरु हुन्छन् ।’ भेलनान ५ प्रतिवेदन प्रस्तुत हुँदैछन् ।

आइतबारसम्म चल्ने भेलामा राजनीतिक, सांगठनिक, आर्थिक र विधानसँग सम्बन्धित विभिन्न प्रस्तावहरू पेस हुने र उक्त प्रतिवेदनमाथि छलफल हुनेछ ।

शनिबार र आइतबार भेला बिहान ९ बजेबाट सुरु हुनेछ ।

शनिबार पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र एनपी साउदले समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको विश्वकर्माले जानकारी दिए । त्यस्तै डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ।

आइतबार प्रतिवेदनमाथि समूहका संयोजकहरूले आ–आफ्नो समूहको धारणा राख्ने र प्रस्तुत प्रस्ताव र समूहगत धारणामाथि निष्कर्ष निकाल्ने कार्यसूची छ । र अन्तिममा शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।