काठमाडौँमा गहना र नगद लुट्ने गिरोह पक्राउ
काठमाडौँ । काठमाडौँमा रातको समयमा सर्वसाधारणको गहना र नगद लुटपाट गर्दै आएको एउटा ठुलो गिरोहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानबाट यो गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो ।
उनीहरूले विशेषगरी रातको समयमा दुई वा तीनवटा मोटरसाइकलमा तीन–तीन जनाको दरले चढेर लुटपाट गर्ने गरेको पाइएको छ। लुटपाटको क्रममा उनीहरूले पीडितहरूलाई कुटपिट समेत गर्ने गरेका थिए, जसका कारण कतिपय पीडितको कानै च्यातिएको र गम्भीर चोट लागेको अवस्था छ।
पक्राउ पर्नेहरूमा लुटपाटका मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ रहेका छन्। अन्य सदस्यहरूमा २३ वर्षीय आयन माझी, २३ वर्षीय मिनस रसाइली, ३२ वर्षीय समन माझी, २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी, २२ वर्षीय विशाल तामाङ, २८ वर्षीय विदुर विश्वकर्मा र २९ वर्षीय फुवा तामाङ छन्।
पक्राउ परेकामध्ये धेरैको आपराधिक पृष्ठभूमि रहेको र उनीहरू यसअघि पनि चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्तिहरू हुन्। यो गिरोहले लुटपाट गर्नुअघि बा १२ च ७७०१ नम्बरको निजी गाडीमा रेकी गर्ने र दिउँसोको समयमा ट्याक्सी चलाएर राति त्यही सवारी लुटपाटमा प्रयोग गर्ने गरेको खुलेको छ।
प्रहरीले लुटपाटमा प्रयोग भएका ६ वटा मोटरसाइकल, एउटा निजी कार र बागमती प्रदेश ०१००२ ज ०७६६ नम्बरको ट्याक्सी बरामद गरेको छ। बरामद मोटरसाइकलहरूमा एनएनएस, पल्सर २२० र केटीएम आरसी जस्ता तीव्र गतिका सवारी साधनहरू रहेका छन्।
यो गिरोहले काठमाडौँको बौद्ध, कुमारीगाल, चाबहिल, भीमसेनगोला, एयरपोर्ट, स्वयम्भू, विजेश्वरी, कारखानाचोक, डल्लु, नयाँ बजार, बुढानीलकण्ठ, कपन र कोटेश्वर जस्ता विभिन्न क्षेत्रमा लुटपाट मच्चाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।
लुटिएका सामान किन्ने कार्यमा संलग्न खोटाङ ज्वेलर्स र सुन चाँदी कालीगढ पसलमा काम गर्ने व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
हालसम्म २७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् भने उनीहरू विरुद्ध अहिलेसम्म जम्मा ४ वटा जाहेरी दर्ता भइसकेको छ। उनीहरूले सुनका औँठी, सिक्री, मुन्द्रा, टप, ब्रासलेट, आइफोन र ठुलो मात्रामा नगद रकम लुट्ने गरेका थिए।
प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: