झोंकमा उम्मेदवारी दिन खोजेको हैन, पार्टी बैठकमै जानकारी गराएका छौँ : पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका छन् । बुधबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘महाधिवेशनमा प्यानल बनाउने नबनाउने भन्ने कुरा कुरा होइन, उम्मेदवारी दिने कुनै झोँकमा गरेको पनि होइन। हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएका हो। हाम्रो कुनै अस्वाभाविक ढङ्गले प्रस्तुत भएको होइन, अवधारणाबारे अध्यक्षसँग औपचारिक कुरा गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको हो।’
पछिल्लो समय पार्टी नेतृत्वको कार्यसम्पादन गर्ने शैली त्रुटीपूर्ण हुँदै गइरहेको पनि बताएका छन् ।
पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै राष्ट्रिय महाधिवेशन विचार र नेतृत्वबारे फैसला गर्ने थलोको रूपमा लिनुपर्ने बताए।
उनले पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई थप सुदृढ गर्न आवश्यक रहेको बताए। उनले भने, ‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ, सामूहिक नेतृत्वबाट अगाडि बढेन भने पार्टी चल्दैन। यो खतराबाट पार्टीलाई बचाउनुपर्छ भनेर लागेका हौँ। सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी रहँदैन।’
एमालेको ११ औँ महाधिवेशनमा पोखरेलले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् । २७ मंसिरबाट एमालेको महाधिवेशन सुरु हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्: