Bagmati Samachar Logo

अहमदाबाद विमान दुर्घटनामा बाँचेका यात्रुले यस्तो भने अस्पतालबाट

काठमाडौं । आज दिउसो भएको भारतको अहमदाबाद विमान दुर्घटनामा एक जना बेलायती नागरिक जीवित रहेको पुष्टि भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले बोइङ ७८७–८ ड्रीमलाइनर विमानको सिट नम्बर ११ ए मा बसेका युवक जीवित रहेको जानकारी दिएका छन् ।

प्रहरी आयुक्त मलिकले एएनआईसँगको कुराकानीमा भनेका छन्, उनी अहिले अस्पतालमा छन् र उनको उपचार भइरहेको छ ।

 

यसअघि अधिकारीहरूले सार्वजनिक गरेको यात्रु सूचीमा सिट ११ ए मा बसेका यात्रुको नाम विश्वास कुमार रमेश रहेको र उनी बेलायती नागरिक भएको उल्लेख गरिएको थियो ।

मिडिया रिपोर्टहरूमा विश्वास कुमार रमेशसँग गरिएको कुराकानी उद्धृत गरिएको छ, जसमा उनले आफ्नो बोर्डिङ पास पनि देखाएको उल्लेख छ । उक्त पासमा उनको नाम र सिट नम्बर ११ ए स्पष्ट रूपमा देखिन्छ ।

रिपोर्टअनुसार विश्वास कुमारले भनेका छन्, उडान भरेको लगभग ३० सेकेन्डपछि एकदमै ठूलो आवाज आयो, अनि विमान दुर्घटनाग्रस्त भयो । सबै कुरा धेरै छिटो भयो ।