Bagmati Samachar Logo

अनेरास्ववियुको महाधिवेशन : हाइकमाण्डको सर्वसम्मतको प्रस्ताव आकांक्षीले लत्याएपछि निर्वाचन हुँदै

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया र महासचिवमा दीपक धामीको नामको प्रस्ताव अस्वीकार भएको छ ।
एमालेले महाधिवेशन सम्पन्न गर्न गठन गरेको सात सदस्यीय हाईकमाण्डले अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी महासचिवमा दिपक धामीको नाम प्रस्ताव गरेको थियो ।

तर, हाईकमाण्डको उक्त प्रस्तावप्रति बन्दसत्रमा नाराबाजी भएको छ ।

अनेरास्ववियुको अध्यक्षमा कडरिया, धामी, पौडेल, सिवाकोटी र आरती भट्टराईले आकांक्षा राखेका छन् । तर, हाईकमाण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कडरियालाई अध्यक्ष बनाउन प्रस्ताव गरेको हो । उक्त प्रस्तावविरुद्ध अध्यक्षका अन्य आकांक्षीहरूले सहमति जनाएका छैनन् ।

आकांक्षीहरूबीच सहमतिको प्रयास पनि गरिएको थियो । तर, त्यो सफल भएन । अध्यक्षका आकांक्षीहरुले नै प्रस्ताव अस्वीकार गरेपछि आज उम्मेदवारी दर्ता हुने छ । भोली मतदान हुने छ ।

महाधिवेशन हलमा नाराबाजी हुँदा प्रहरी पनि परिचालन गरिएका थिए । बन्दसत्रमा असन्तुष्ट विद्यार्थीहरूले नेतृत्व चयनका लागि निर्वाचनको माग गरिरहेका छन् ।