७० वर्षे उमेरहद पुरानो भइसक्यो, म ७४ वर्षको भइसकेँ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उमेरहद लागू नहुने बताएका छन् । अनेरास्ववियुको २४ औँ महाधिवेशन उद्घाटन गदै ओलीले एमाले नेतृत्वमा उमेरका कारण हट्ने र नहट्ने कुरा प्रमुख नभएको बताए ।
उनले नेतृत्वमा भएको ७० वर्षको उमेर हद फेल खाइसकेको बताए । उनले भने, ‘उमेरले होइन स्वास्थ्यले साथ दिए हुन्छ । कार्यक्षमता भए पुग्छ । चीनमा दुईपटक महासचिव र राष्ट्रपति हुने व्यवस्था अहिले हटाएको छ । सी चीनफिङ आवश्यकताले नेतृत्वमा छन् । साइप्रसको कम्युनिस्ट पार्टीले पनि उमेर हद लगाएको थियो । तर हटाएको छ । म नै हुन्छु भन्ने छैन । तर जडसुत्रको रूपमा समात्ने होइन । म ७४ वर्षको भइसकेँ ।’
माधव नेपाललाइ ७० वर्ष पुगेर हटाइएको नभएर ७० नपुग्दै हटाएको उनले बताए । उनले भने, ‘झलनाथलाई ४१ वर्षको उमेरमा नै हटाएका हौँ । उमेर भन्दा पनि काम हेर्नुपर्छ । ३१ वर्षको उमेरका सीपीलाई हटाएका हौँ । मनमोहनलाई ७८ सम्म हामीले हटाएनौँ । उहाँको मृत्युपछि आफैँ नेतृत्व बदलिएको हो ।’
एमालेमा तलतल यो ग्रुप त्यो ग्रुपको आवश्यकता नभएको उनले बताए । उनले भने, ‘सुनिन्छ फलानाका फलानाका ग्रुप छन् । महाधिवेशन घोषणा भएको छैन । यो आउने त्यो आउने हल्ला चलाएको छ । यस्तो हल्लाको पछि नलाग्नुहोस् । तर पार्टीविरुद्ध बोल्नेलाई छुट हुँदैन । भीम रावलले सधैँ बाहिरबाट ढुङ्गो हान्यो । त्यसपछि पार्टीले कारबाही गरेको हो ।’
प्रतिक्रिया दिनुहोस्: