भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन भन्दै कांग्रेसले दियो क्लिनचिट
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको भन्दै क्लिन चिट दिएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँ निर्दोष हुनुहुन्छ । भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
बैठकले यस प्रकरणमा लेखक संलग्न नारहेकाले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् ।
गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा ल्रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए ।
अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको गृहमन्त्रीमाथि आरोप छ । उक्त प्रकरणमा जोडिएका लेखकका सचिवालयदेखि अन्य कर्मचारीहरुको भित्र भित्रै मिति नै फरक हालेर सरुवा गराइरहेका समाचार बाहिरीएका छन् ।
प्रतिक्रिया दिनुहोस्: