Bagmati Samachar Logo

भैरहवा विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाँण

काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाँण चयन भएकी छन्।

आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उपसमितिको आइतबार बसेको बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ।

यसअघि उपसमिति संयोजकमा नेकपा ९एमाले० का सांसद योगेश भट्टराई थिए।

भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए।

त्यसपछि उपसमिति सदस्यहरूमध्येबाट आइतबार कांग्रेस सांसद खाणलाई संयोजक तोकिएको हो।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेपछि रास्वपा सांसद मनीष झाले प्रश्न उठाएका थिए।

सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका थिए। त्यसपछि भट्टराईले मन्त्री भइसकेको व्यक्ति उपसमितिको संयोजक बस्नु हुँदैन भनेर प्रश्न उठेकाले समितिमा नरहने जानकारी गराएका थिए।