तरूण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान, प्रहरीले दर्ता गरेन जाहेरी
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल लमजुङको पाँचौं अधिवेशनमा दुई पक्षबीच विवाद हुदा खुकुरी हानाहान भएको छ। उद्घाटन सत्र चल्दै गर्दा कार्यक्रममामा एक समूहले नाराबाजी गरेको थिायो ।
कार्यक्रमको प्रमुख अतिथि थिए निवर्तमान अध्यक्ष जीतजंग बस्नेत र विशिष्ट अतिथि थिए हालका अध्यक्ष विद्धान गुरुङ । नारा लगाउने समूहले एकलौटी गर्न पाइँदैन भनेर नारा लगाएका थिए ।
उक्त नारा कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ लक्षित थियो । गुरुङकै समूहले फरक मत भएकाहरूलाई पाखा पारेर प्रतिनिधि छनोट गरेको आरोप उनीहरूको थियो । नारा लगाउनेहरू निवर्तमान सभापति भेषबहादुर पौडेल निकटका हुन् ।
उनीहरूबिच लामो समयदेखि द्वन्द्व छ । गुरुङले कांग्रेसको संस्थापन पक्षको नेतृत्व गर्छन् भने पौडेलले संस्थापन इतरको नेतृत्व धान्दै आएका छन् । नाराबाजीकै बिच घटना असामान्य बन्यो । संस्थापन पक्षले नाराबाजी लगाउनेहरूमाथि खुकुरी प्रहार गर्यो । खुकुरी लागेर ४ जना घाइते भएका छन् ।
घाइतेमध्ये खुसीजंग गुरुङ र सुदीप अधिकारीको अवस्था अलि गम्भीर भएका कारण चितवन रिफर गरिएको छ । गुरुङ हाल बेंसीशहर ९ का वडाध्यक्ष र तरुण दलका क्षेत्रीय सभापति हुन् ।
उनी जिल्ला सभापतिको दावेदार समेत रहेको र उनैको पूर्णकालीन सदस्यता खोसिएको आरोप छ । कांग्रेस लमजुङका सदस्य किशोरकुमार बस्नेत र अर्का नेता शंकर सापकोटा पनि घाइते भएर उपचाररत छन् ।
खुकुरी लगायत हातहतियार प्रयोग गरी भएको आक्रमणमा परेर ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
खुकुरी प्रहारबाट बेसीसहर– ९ का वडाध्यक्ष एवं तरूण दल क्षेत्रीय सभापति खुसीजंग गुरूङ र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन्। उनीहरूको जिल्ला अस्पताल बेसीसहरमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
उनका अनुसार बाँकी घाइतेहरू शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको जिल्ला अस्पतालमै उपचार गरिएको छ।
खुकुरी प्रहार गरेर घाइते भए पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन्। घाइतेका तर्फबाट किटानी जाहेरी दिएपनि दर्ता नभएको घाईते पक्षले बताएको छ ।
तरूण दल लमजुङको अधिवेशनमा वडा तहबाट चार जना प्रतिनिधि छनोट हुने र त्यसबाहेक समावेशी प्रतिनिधि र वडामा ३५ जना भन्दा बढी साधारण सदस्य भए ३५ जनाबाट एक जना जिल्ला प्रतिनिधि छनोट गर्नुपर्ने विधानको व्यवस्था छ।
तरूण दलको जिल्ला अधिवेशनमा अधिकांश वडाका प्रतिनिधि छनोट नै नगरी खाली पाना राखिएको भन्दै अधिवेशनमा विवादसमेत भएको थियो।
लमजुङमा रहेका ८ वटा स्थानीय तहमा ७२ वटा वडा छन्। वडाबाट आउने प्रतिनिधि, समावेशी प्रतिनिधि, तरूण दलको जिल्ला कार्यसमिति लगायत गरी झण्डै ५ सय जना प्रतिनिधि अधिवेशनमा रहनुपर्ने विधानको व्यवस्था रहेको तरूण दल लमजुङका एक नेताले बताए।
‘पाँच सय जना प्रतिनिधि हुनुपर्ने ठाउँमा धेरै वडाबाट प्रतिनिधि नै छनोट गरिएन,’खती नेताले भने, ‘सुन्दरबजार नगरपालिकाको धुसेनीबाट छैन, अरू पनि धेरै वडाबाट प्रतिनिधि छैन।’
प्रतिनिधि नै छनोट नगरी अधिवेशन कब्जा गरेर सभापति शेरबहादुर देउवा पक्षले आफू अनुकूल कार्यसमिति गठन गर्न खोजेको ती नेताले बताए।
नेपाली कांग्रेस लमजुङका अर्का नेताका अनुसार तरूण दलमा सभापति देउवा पक्ष र शेखर कोइराला–गगन थापा समूहबीच प्रतिनिधि छनोटमा विवाद भएपछि उक्त घटना भएको हो। कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ सभापति देउवा पक्षका हुन् । निवर्तमान जिल्ला सभापति एवं गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल शेखर–गगन पक्षका छन्।
प्रतिनिधि छनोटमा देउवा पक्षले खुकुरी लगायत हतियार प्रयोग गरी आक्रमण गरेको शेखर–गगन पक्षले आरप लगाएको छ। आक्रमणमा परी गम्भीर घाइते भएका पाँचै जना शेखर–गगन पक्षको भएकाले एकतर्फी आक्रमण भएको उनीहरूको दाबी छ।
यता, देउवा पक्षका जिल्ला सभापति एवं गण्डकीका अर्थमन्त्री डा. टकराज गुरूङले जिल्ला अधिवेशन चलिरहेका बेला बाहिरबाट हुलहुज्जत गरेकाले घटना भएको बताए। बाहिरबाट अधिवेशन भाँड्न खोजेको पनि उनले आरोप लगाए।
‘ुबाहिरबाट जानेले हुलहुज्जत गरेर आक्रमण गरे। आक्रमण गरेपछि थापेर बस्ने हो र ?’ उनले भने, ‘यो पक्ष र ऊ पक्ष भन्दा पनि सबै पार्टी कार्यकर्ता हुन्। त्यहाँ हुलहुज्जत गर्न जाने को थिए, थिएन मलाई थाहा भएन।’
बाहिरबाट हतियार लिएर गएर आक्रमण प्रयास भएको भन्दै उनले प्रहरीबाट छानबिन गरी दोषीलाई कारबाही हुने बताए।
शेखर–गगन पक्षका लमजुङ कांग्रेसका निवर्तमान सभापति एव गण्डकीका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले योजनाबद्ध आक्रमण भएको दाबी गरे।
‘म र जीतजंग बस्नेत गफ गर्दै थियौं। बाहिर हातहतियारसहित आक्रमणमा उत्रिएछन्,’ उनले भने, ‘नेपाली कांग्रेसको भ्रातृ संस्थाको अधिवेशनमा हतियारसहित आक्रमण होला भनेर कल्पना पनि गरिएको थिएन।’
अधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गराउन भन्दा पनि कब्जा गर्ने नियत देखिएको भन्दै उनले विधान अनुसार संगठन चलाउन माग राखे।
प्रतिक्रिया दिनुहोस्: