माओवादीको भन्यो : दुईतिहाइको सरकार अध्यादेशको पासोमा पर्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रले दुईतिहाइको सरकार अध्यादेशको पासोमा परेको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सदन खुलेको २१ दिनसम्म पनि सरकारले अध्यादेशबारे कुनै निर्णय गर्न नसकेको बताए ।
‘सात दिनपहिला अध्यादेश ल्याएर सात दिनपछि सदन बोलाउँछ । सरकारले अध्यादेशको बाटोबाट देश चलाउन खोजेको छ । तर, उसले भनेजस्तो सहज तरिकाले देश अगाडि बढ्न सकेन ,’ सापकोटाले भने ।
उनले भने, ‘सरकार अहिले अध्यादेशको पासोमा परेको छ । २१ दिनमा सदनको काम हात लाग्यो शून्य भयो । सबैभन्दा महत्त्वपूर्ण संस्था सदन हो । तर, त्यो प्रभावकारी हुन सकेको छैन । अहिले आरोप र प्रत्यारोपको थलो बनेको छ । त्यहाँ विचार, नीति र सिद्धान्तको बहस हुँदैन । फगत आरोप–प्रत्यारोप हुन्छ । सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले उत्तर नदिनु लज्जाजनक हो ।’
सहकारीपीडितको समस्या गम्भीर बनेको बताउँदै सापकोटाले सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नतर्फ गएको आरोप पनि लगाए । उनले भने, ‘जनताको मुख बन्द गर्ने हिसाबले सामाजिक सञ्जाल विधेयक आएको छ । यो गलत भएको छ ।’
सरकारले महँगी नियन्त्रण नगरेर छाडा छोडेको आरोप पनि उनले लगाए । विपद्मा परेका जनतालाई राहत दिने कुरामा सरकार चुकेको उनको भनाइ थियो । जोखिम व्यवस्थापनमा सरकारको तयारी कस्तो छ भन्ने कुरा खानेपानी मन्त्रालयमा आगो लाग्दा देखिइसकेको प्रवक्ता सापकोटाले बताए ।
भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटनामा सरकारले प्रभावकारी पहलकदमी चाल्न नसकेको आरोप पनि प्रवक्ता सापकोटाले बताए । विदेशमा नेपालीमाथि हुने विभिन्न ज्यादतीको घटनामा सरकार बेखबर बनेको उनले बताए । उनले भने, ‘ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटना निकै दुःखद छ । यस्तो घटना इतिहासमै पहिलोपटक भएको हो । तर, सरकारले प्रभावकारी पहलकदमी चाल्न सकेन । विदेशमा नेपालीहरूमाथि भइरहेको ज्यादतीमा पनि नेपाल सरकार बेखबर बन्यो ।’
सुशासनका कुरा गर्नेलाई यो सरकारले दुःख दिएको आरोप सापकोटाले लगाए । उनले भने, ‘यो सरकारबाट बिचौलियालाई फाइदा भएको छ । सुशासनका कुरा गर्नेलाई दुस्ख दिन्छ । उसले चाहेका मान्छेलाई जस्तो गरे पनि छुट छ ।’
प्रतिक्रिया दिनुहोस्: