एमाले नेतृत्व प्रति पृथ्वीसुब्बा गुरुङको असन्तुष्टि
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी नेतृत्व प्रति असन्तुष्टि पोखेका छन् । कांग्रेस–एमाले गठबन्धनको बलियो सरकारका प्रवक्तासमेत रहेका गुरुङले प्रेस चौतारी नेपाल एसोसिएट प्रदेश समितिको बुधबार दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा असन्तुष्टि पोखेका हुन् । उनले पार्टीभित्र देखिएको दक्षिणपन्थी अवसरवाद र सङ्कीर्णवादका कारण पार्टी कमजोर बनेको भन्दै आलोचना गरेका छन् । सोही कारण एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउन नसकिएको बताए ।
मन्त्री गुरुङले सङ्कीर्ण सोच र विचारले पार्टी अघि नबढ्ने बताएका हुन् । एमालेका शीर्ष नेतामध्ये उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली उनलाई मन्त्री बनाउन चाहँदैनथे । तर, पूर्वराष्ट्रपति भण्डारीले गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका नेता भएकाले रक्षामन्त्री बनाउन आग्रह गरेकी थिइन् । ओलीले रक्षामन्त्री त बनाएनन्, पार्टी सचिव योगेश भट्टराईलाई वचन दिइसकेको सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त गरे ।
नेता गुरुङले पूर्वराष्ट्रपति पार्टीमा फर्किनु हुन्न भन्ने अध्यक्ष ओली लाइनप्रति साङ्केतिक रूपमा असन्तुष्टि पोखेका हुन् । अर्का उपमहासचिव प्रदीप ज्ञवालीमार्फत एमाले संस्थापनपक्षले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा फर्किनु उपयुक्त हुँदैन भन्ने सन्देश दिइरहेका बेला नेता गुरुङले त्यसलाई ुआफूलाई मात्रै शुद्ध ठान्ने र अरूलाई पार्टीमा ल्याउन नचाहनेु प्रवृत्ति भनेका छन् । योसँगै पार्टीमा रहेका १० बुँदे पक्षधर र पूर्वमाओवादी पृष्ठभूमिका नेताको पक्षमा पनि उनले आफ्नो मत राखेका छन् ।
‘आफूलाई मात्रै शुद्ध ठान्ने र अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरि पनि जिम्मेवारी यथोचित नदिने, अहिले पनि हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो सकीर्णवादले आजको कम्युनिस्ट आन्दोलन कमजोर बनाएको छ,’ उनले भनेका थिए ।
को भूमिका पछिल्लोपटक पार्टी न सरकार कतै पनि प्रभावकारी छैन । भएर पनि उनी छायामा छन् । सरकारमा उनी आफ्नै कमजोर ‘पर्फमेन्स’ले आलोचित छन् भने मन्त्री भएकाले पार्टीमा काम देखाउने जिम्मेवारी पाएका छैनन् ।
पार्टीभित्र अराजकता मौलाएको प्रति पनि उपमहासचिव गुरुङले चिन्ता व्यक्त गरेका छन् । चुनावमा आफूले टिकट पाएन भने आफ्नै पार्टीको उम्मेदवारलाई नै हराउन लागिपर्ने प्रवृत्ति पार्टीभित्र छ्यापछ्याप्ती भेटिने उल्लेख गर्दै उनले आफैँभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई एमालेले पुँजीकृत गर्न नसकेको स्वीकारेका छन् । ‘चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लाग्ने अहिले हाम्रो पार्टीभित्र छ्यापछ्याप्ती पाइन्छ । हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरू धेरै ठोकिन्छन्, संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ?,’ उनले प्रश्न गरे ।
पार्टीभित्रको अन्तर्घातकै कारणले गएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्न नसकेको उनको दाबी छ । पार्टीभित्रकै अन्तर्घातको कारणले एमालेले ८२ ठाउँमा चुनाव हारेको गुरुङको भनाइ थियो । ‘गएको स्थानीय तहको चुनावमा ७ सय ५३ पालिकामध्ये ८२ वटामा हामीभित्रकै आन्तरिक विवादको कारणले हार्यौँ’, गुरुङले भने, ‘हाम्रो उम्मेदवारलाई हाम्रै साथीहरूले असहयोग गरेका कारणले, आफूले टिकट नपाउनेबित्तिकै कोही कांग्रेसतिर लागिदिए, कोही कांग्रेसलाई पैसा हाल्न थाले । अहिले हाम्रो २ सय ६ सिट छ । ८२ थपिएको भए २ सय ८८ हुन्थ्यो, कांग्रेस र माओवादीको सिट घट्थ्यो, हामी पहिलो पार्टी बन्थ्यौँ ।’
स्थानीय तहको निर्वाचन बिग्रेकै कारण एमालेले प्रदेश र संघमा लक्ष्यअनुसार सफलता प्राप्त गर्न नसकेको नेता गुरुङको विश्लेषण छ ।
प्रतिक्रिया दिनुहोस्: