नयाँ शक्तिको पदाधिकारीमा क–कसले कति पाए मत
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । आज सम्मपन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।
उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल ३९३ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार जनकराज शाहले ३६८ मत पाएका छन् । आदिवासीतर्फ टेकबहादुर बाठामगर ३१९ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धीमा बलबहादुर लिम्बूले १६४ मत पाएका छन् । मधेसीतर्फ उमेश साह ३९५ मतले विजयी भएका छन् । प्रतिस्पर्धी चिनक कुर्मीले ३२० मत पाएका छन् ।
यसअघि महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान चार सय ९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जिएस गुरुङले ३७९ मत पाएका छन् । सचिव महिलामा आशाकुमारी तामाङ ३१४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सिर्जना नेपालले २८० मत पाएका छन् । खुला सचिवमा लक्ष्मण कार्की ३५३ मत ल्याएर विजयी भएका छन् । भरत दाहाल ३७९ मत ल्याएर विजयी भएका छन् ।
९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् । आइतबारदेखि राजधानीको प्रज्ञा भवनमा भएको प्रथम महाधिवेशनपछिको निर्वाचनबाट २२ जना निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: