लेखराज भट्टको गोप्य सम्बोधन भाइरल- मञ्चमा हामी बसेका हुन्छाैँ ओली माओवादी आतंककारी भन्नू हुन्छ
काठमाडौ । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले एमाले अध्यक्ष केपी ओलीले पूर्वमाओवादी भन्दै हेप्ने गरेकाे बताएका छन्ए । भट्टकाे एउटा गाेप्य भिडियाे सामाजिक सञ्जालमा बाहिरिएको छ । उक्त भिडियोमा नेता भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै आफू हेपिएको बताएका छन् ।
‘हामी मञ्चमा हुन्छौँ, कहिले अध्यक्ष (ओली) आतंककारी भनिदिनुहुन्छ हामीलाई,’ उनले भिडियोमा भनेका छन्, ‘अपराधी, हत्यारा भनिदिनुहुन्छ । तर हामी अहिले पनि गर्व गर्छौं क्या । ‘जनयुद्ध’ नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन । त्यो पाउनुहुन्थेन ।’
भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लडे जस्तै ओलीसँग जुध्न नसकिने पनि बताएका छन् । ‘मचाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ,’ उनले भनेका छन्, ‘किनभने त्यहाँ लडेर आइया छ । यहाँ केपी भनिएको छ । हाम्रो (एमालेमा) त म भन्ने छ नि त अहंकार नेताहरूमा । या त मैले अन्य पार्टी खोल्नुपर्छ । या त अरू पार्टीमा जानुपर्छ । या त मैले सन्यास लिनुपर्छ । सिधै अहिले नै केपीसँग जुध्ने हो भने त समस्या त आइहाल्छ । अहिले बेलै भएको छैन । भर्खर हामी आएका हौँ । उहाँले हामीलाई बुझ्नुभएको छैन ।’
सामाजिक सञ्जालमा भाइरल उक्त भिडियो कैलालीको अत्तरियास्थित भट्ट निवासमा एमालेमा रहेका पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीको रहेको बताइएको छ । केही दिनअघि भट्टले एमाले छोडेको सामाजिक सञ्जालमा चर्चा भएको थियो । भट्टको सचिवालयले त्यसको खण्डन गरेको थियो । त्यसअघि भट्टकै गृहनगर गोदावरीका ४६ जना पूर्वमाओवादीले एमाले छोडेको विज्ञप्ति सार्वजनिक भएको थियो । केही दिनपछि ४६ मध्येका २८ जनाले अफूहरू एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: