नेतृत्वमा प्रचण्डको विकल्प , विशेष महाधिवेशनमा गराैँ : वर्षमान पुन
काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको माग गरेका छन् ।
काठमामाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उपमहासचिव पुनले विशेष महाधिवेशनको माग गरेका हुन् । विशेष महाधिवेशनको माग गरेका पुनले नेतृत्वमा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको बताएका छन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार उपमहासचिव पुनले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनलाई समर्थन गरेका छन् । ‘मिसन २०८४ का लागि पार्टीलाई अभियानमा केन्द्रित गर्ने स्पिरिट राम्रो छ । नेतृत्वमा प्रचण्डलाई अझ स्थापित गर्नुपर्छ,’ पुनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
बैठकमा अर्का उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष प्रचण्ड परिवर्तन हुन थालेको बताएका छन् । ‘अध्यक्षको हिजोभन्दा बानी व्यवहारमा परिवर्तन आएको छ,’ उनले भने, ‘पार्टी बिगारेको जिम्मेवारी लिऔँ ।’
अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले युगान्तकारी कदम उठाएको बताएका छन् ।
यस्तै, बैठकमा केन्द्रीय सदस्य रञ्जित तामाङले २०८४ को निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने गरी अभियानमा लाग्नुपर्ने बताए । ‘२०८४ मा दुईतिहाइ मतसहित प्रचण्डकै नेतृत्वमा सरकार बनाउने गरी हामी अभियानमा लाग्नुपर्छ,’ उनले भने ।
अर्का नेता शालिकराम जम्मकट्टेलले पार्टी नियमित महाधिवेशनमै जानुपर्ने बताए । ‘हामी नियमित महाधिवेशनमा जानुपर्छ । मूल नेतृत्व प्रचण्ड नै हो र उहाँलाई नै बनाउनुपर्छ,’ उनले भने ।
बैठकमा केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले अध्यक्ष प्रचण्डको प्रस्तावमा जनतामा फर्किने कार्यक्रम आएको बताए । ‘हामीले कुन कोणबाट बहस गर्ने भन्ने विषय हो,’ उनले भने, ‘प्रचण्डजत्तिको नेतृत्व पाएकाले यो पार्टीलाई हामीले पहिलेकै अवस्थामा फर्काउन सक्छौँ । त्यही अनुसार हामी अघि बढ्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्: