Bagmati Samachar Logo

पूर्वराष्ट्रपतिलाई पार्टीमा ल्याउन दौडधुप नगर्न एमाले नेतार्लाई ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा उनले पार्टीमा आउनुपर्‍यो भन्दै भण्डारीलाई नभेट्न नेता–कार्यकर्तालाई सचेत गराए ।

ओलीको भनाइ भन्दै एक सहभागीले भने, ‘पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुपर्‍यो भन्ने कुराको कुनै तुक छैन । उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ । पार्टीमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा गुटका कुरा गरेर हुँदैन ।’

पूर्वराष्ट्रपति भण्डारीमा एमाले अध्यक्ष बन्ने चाहना रहेको नेताहरू बताउँछन् । तर, उनले औपचारिक रूपमा मुख खोलेकी छैनन् ।

एमालेको ११औँ महाधिवेशनमा भण्डारीलाई देखिने चर्चा एमालेवृत्तमा छ । उनलाई पार्टीमा क्रियाशील बनाउन नेताहरू सक्रिय छन् । राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेपछि भण्डारी चपलीमा आफ्नै घरमा बस्दै आएकी छन् । सरकारी सुविधा नलिएकाले उनी राजनीतिमा आउन सक्ने आकलन गरिँदै आएको छ ।

कार्यशालामा ओलीले पार्टीमा गुट नरहेको जिकिर गरे । उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा गुटको राजनीति नगर्न समेत चेतावनी दिए ।

कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्षरमहासचिव र स्थानीय तहमा निर्वाचित झण्डै ३ सय हाराहारी कार्यकर्ता सहभागी छन् ।