स्थानीय तह उपनिर्वाचन एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष जित्यो
काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ दल नेकपा एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष जितेर स्थानीय तहमा दुई पालिका थपेको छ ।
उपनिर्वाचनमा एमालेले दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा विजय पाएको छ । यी दुबै पालिकामा अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो ।
महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १ सय २७ मतसहित निर्वाचित भएका छन् । उनलाई एमलेले नेकपा एसबाट पार्टी प्रवेश गराएर टिकट दिएको हो । नेपाली कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारी २ हजार ६ सय ७५ मत ल्याएर दोस्रो भएका छन् ।
त्यस्तै माओवादीका जंगबहादुर बराल ८ सय ४२ मत सहित तेस्रो भएको छ । यसअघि महाबु गाउँपालिकामा कांग्रेसका लछुमन गुरुङ २ हजार ९ सय ७९ मतसहित विजयी बन्दा एमालेका हरि प्रसाद उपाध्याय २ हजार ५ सय १९ मतसहित उपविजेता बनेका थिए । त्यस्तै एकीकृत समाजवादीका जंगबहादुर शाही २ हजार २६८ मतसहित तेस्रो भएका थिए । अहिले उनै जंगबहादुर एमाले फर्किएर अध्यक्षमा विजयी भएका हुन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचना कुमारी भण्डारीले १ हजार ६ सय ३७ मतसहित निर्वाचित बनेकी छन् ।
कांग्रेसकी पुल्तीसरा शाही १ हजार ४ सय ७४ मतसहित उपविजेता बनेकी छन् । त्यस्तै नेकपा एसका जवा शाही ५ सय ५३ मतसहित तेस्रो स्थानमा उक्लिएको छ ।
यसअघिको निर्वाचनमा कांग्रेसकी मैना जोशी १ हजार ८ सय १० मतसहित निर्वाचित भएको सो पद उपनिर्वाचनमार्फत एमालेले खोसेको छ ।
वडामा पाँचको ५ नै
नेकपा एमालेले ५ वटा वडामा जित निकालेको छ । जसमा सिरिजंघा ३, मोलुङ ५, दुल्लु १३, रामगोपालपुर २, शुद्धोधन गाउँपालिका १ मा एमालेले जित निकालेको छ । महोत्तरीको रामगोपालमा माओवादीबाट वडाध्यक्ष खोसेको एमालेले कांग्रेसबाट सिजंगा, मोलुङ र शुद्धोधनमा नयाँ जित हात पारेको हो ।
यस्तै एमालेले यसअघि जितेको डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ५ गुमाएको छ । उपनिर्वाचनमा यो वडाबाट माओवादीका नरबहादुर झाँक्री विजयी भए । उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित बन्दा एमालेका नरबहादुर रोका ११६ मतमा चित्त बुझाउन बाध्य भए ।
त्यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाको कन्काइ ६ बाट एमालेले वडाध्यक्ष गुमाएको छ । त्यहाँ स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित निर्वाचित हुँदा एमालेका तुलाराम बस्नेत ३५६ मतमा सिमित बने । यो वडामा २०७९ को निर्वाचनमा एमालेका दीर्घबहादुर थापा ५०८ मतसहित निर्वाचित भएका थिए ।
त्यस्तै, यो उपनिर्वाचनमा एमालेले गोरखा–१२ पनि गुमाएको छ । ७९ को निर्वाचनमा एमालेका खिलबहादुर राना ४५३ मतसहित निर्वाचित गोरखा १२ मा यो पटक माओवादीका विष्णुबहादुर मगर ४८६मतसहित निर्वाचित भए । बझाङको सूर्मा पनि एमालेले गुमाएको छ । यसअघि यहाँ एमालेका एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित विजयी भएकोमा अहिले कांगेसका धीरेन्द्र पुजरा ६५७ मतसहित विजयी बने ।
एमालेले सुनसरीको गढी गाउँपालिका ६ पनि गुमाएको छ । यहाँ २०७९ को निर्वाचनमा एमालेका सदानन्द उराँव झागर ७१२ मतसहित निर्वाचित बनेका थिए तर उपनिर्वाचनमा यो वडा कांग्रेसले खोसेको छ ।
प्रतिक्रिया दिनुहोस्: