कोशीका पूर्वमन्त्री अधिकारीलाई जापान प्रकरणमा सरकारले उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का सांसद लिलाबल्लभ अधिकारीलाई सरकारले उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले मुख्य योजनाकार रहेका पूर्वमन्त्री अधिकारीलाई सरकारले उन्मुक्ति दिएको बताए।
‘अहिले पूर्वमन्त्रीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेकोमा हाम्रो पार्टीको आपत्ति छ,’ सापकोटाले भने, ‘जसको निर्देशनमा मानिस जापान लैजाने काम भयो उसैलाई उन्मुक्ति दिने, उनलाई छुटाएर मुद्दा दर्ता गरिएको छ।’
जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीविरुद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको छ । तर अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले भ्रष्टचारी र माफियाको संरक्षण गर्दै आएको आरोपसमेत उनले लगाएका छन्।
स्थानीय तह उपनिर्वाचनपछि सरकारविरूद्ध कडा ढंगले प्रस्तुत हुने पनि प्रवक्ता सापकोटाको भनाइ छ। पालिका सम्मेलन र खबरदारी सभा सबै स्थानीय तहमा एकैसाथ अघि बढाउने तयारी गरिउको पनि उनको भनाइ छ।
फरक प्रसंगमा उनले बिआरआईलाई सरकारले अघि बढाउनुपर्ने बताए। ‘बिआरआईलाई सरकारले अघि बढाउँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्: