Bagmati Samachar Logo

कीर्तिपुरमा नेकपा एसका मेयरले माओवादीलाई समर्थन गदै उम्मेदवारी निस्क्रिय पारे

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवारले उम्मेदवारी निस्क्रिय पारेका छन् ।

यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए, तर रिजालसहित पार्टी पंक्तिले अध्यक्षको निर्देशन मानेन, घरदैलो कार्यक्रम जारी राखेको थियो ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको वार्तापछि एसका उम्मेदवार रिजालले माओवादी उम्मेदवार महर्जनको पक्षमा विज्ञप्ति जारी गरेका हुन् ।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच छलफल भएपछि मेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर माओवादीका उम्मेदवारलाई समर्थन गरेका हुन् ।

मंगलबारको वार्तामा माओवादीका तर्फबाट प्रचण्डसहित अग्नि सापकोटा, नारायणकाजी श्रेष्ठ, हितमान शाक्य सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रदेशसभा सदस्य रमा आले, जिल्ला अध्यक्ष श्रेष्ठ र युवा नेता नितेश पौडेल थिए ।